भरतपुर, १० मंसिर ।
पच्चिस दिनअघि प्रतितोला एक लाख ७१ हजार रुपैयाँ मूल्य रहेको सुनको भाउ सोमबार प्रतितोला एक लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भयो । हिजो आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार २ सय रुपैयाँ थियो । २५ दिनको अन्तरालमा सुनको भाउमा प्रतितोला १९ हजार सात सय रुपैयाँको गिरावट आयो । किन ह्वात्तै घट्यो त सुनको भाउ ? यसका केही कारण छन् ।
सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हो । यसरी भन्सार दरमै फेरबदल भएको कारणले सुनको भाउ घटेको हो । गत बिहीबारको मन्त्रिपरिषद् बैठकबाट सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो । यस्तो निर्णय कार्यान्वयनको लागि आइतबार सर्कुलर भएसँगै सोमबारको बजारमा यसको प्रभाव देखिएको हो ।
नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान साढे १० बजे कायम भएको प्रतिऔंस सुनको मूल्य, भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर तय गरिने गरिन्छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार भन्सारदर २० प्रतिशत जोडेर मूल्य निकालेको थियो । सोमबार भने १० प्रतिशत जोडेर निकाल्यो । महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्यका अनुसार भन्सारको कारण सोमबार सुनको मूल्यमा प्रतितोला करिब १३ हजार रूपैयाँ घटेको छ भने अन्तर्राष्ट्रिय बजार मूल्य घटेको कारणले पनि प्रतितोला करिब दुई हजार नौ सय मूल्य घटेको छ । सोमबारमात्रै सुनको मूल्य प्रतिऔंश ४५ डलर घटेको छ । त्यसकारण सोमबार यति धेरै मूल्य घट्नुको कारण भन्सार दर नै घटेकोले हो ।
के कारण घटाइयो भन्सार दर ?
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार अवैधानिक (भन्सार छलेर ल्याइने) सुनको कारोबार बढेको तर वैधानिक सुनको कारोबार न्यून भएकोले भन्सारदर घटाइएको हो । यसको मूल कारण भने नेपाल भारतको भन्सार महसुलमा भएको अन्तर नै भएको व्यवसायीहरूको भनाइ छ । विगतमा भारतको तुलनामा नेपालमा भन्सार केही कम थियो । तर, आर्थिक वर्ष २०७९÷८० देखि नेपाल भारतमा समान भन्सार दर (१५ प्रतिशत) कायम गरिएको थियो ।
चालु वर्षको बजेटमा भने नेपालले भन्सार बढाएर २० प्रतिशत पु¥यायो भने भारतले घटाएर ६ प्रतिशतमा झार्यो । नेपाल र भारतले छुट्टाछुट्टै समयमा बजेट ल्याउने गर्छन् । विगतमा भारतको पहिले र नेपालको पछि बजेट आउने गरेको थियो । सधैं माघ महिनामा बजेट ल्याउने गरेको भारतले निर्वाचनको कारण चालु आर्थिक वर्षको लागि यो पटक भने अन्तरिम बजेट ल्याएको थियो ।
त्यसपछि २०८१ असारमा भने पूर्ण बजेट ल्याएको थियो । पूर्ण बजेटमा भारत सरकारले सुनको भन्सार दर घटाएपछि यहाँभन्दा भारतमा सुन सस्तो भइरहेको थियो । व्यवसायीहरूले भारतको बजेटपछि खुला सिमानाको फाइदा उठाएर नेपालीले भारतीय बजारबाट कारोबार गर्न थाले ।
वैधानिक सुनको आयात घट्यो ।
चाडपर्वको समयमा दैनिक ४० केजी र औसत समयमा २० केजी सुनको कारोबार हुने गरेको थियो । तर, पछिल्लो चार महिनामा भने वैधानिक सुनको कारोबार औसतमा दुई केजी मात्रै भएको छ । यसो हुँदा सरकारको राजस्व पनि घट्ने र वैधानिक सुनको कारोबार गर्ने व्यवसायी पनि समस्यामा पर्ने भएपछि व्यवसायीको आग्रह र बजार अनुगमपछि भन्सार घटाइएको अर्थका अधिकारीले बताएका छन् ।
अब कस्तो प्रभाव पर्छ ?
सुनचाँदी व्यवसायी तेजरत्न शाक्य अब सुनको कारोबार बढ्ने प्रतिक्रिया दिन्छन् । भन्सार घटाउनुअघि (अहिलेको मूल्यमा) नेपाल भारतबीच एक तोला सुन बराबर करिब २२ हजार मूल्य अन्तर थियो । अब भने करिब पाँच हजार मूल्य अन्तर छ । यो पनि ढिक्का सुनमा मात्रै हो । गहनामा भारतले जिएसटी (गुड एण्ड सर्भिस ट्याक्स) लगाउने भएको कारण करिब उस्तै मूल्य हुन आउँछ । यो हुँदा वैधानिक सुनको कारोबार बढ्ने अनुमान गरिएको छ ।
तिहारको समयमा दैनिक ५० केजी सुनको बिक्री भएको प्रतिक्रिया व्यापारीहरूले दिँदा बैंकहरूले भने सुन नै बेच्न सकेका थिएनन् । तिहारलाई लक्षित गरेर ल्याइएको ३२ केजी सुन आयात रहेकोमा यस्तो सुन बिक्री नभएको बैंकरहरूको गुनासो थियो । नेपालमा सुनको आयात बैंकहरूले गर्ने गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष धर्मसुन्दर बज्रचार्यले पनि भन्सार घटाएपछि व्यापार बढ्ने अपेक्षा राखेको बताए ।