मकवानपुर, १० मंसिर ।
मकवानपुर प्रहरीले स्रोत नखुलेको विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । आइतबार हेटौँडा–१, चौकीटोलबाट आफैले लगाएको अन्डरवेयर र झोलामा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ६२ लाख रुपैयाँ बराबरकाे विदेशी मुद्रा बरामद गरेको जनाएको छ । सोमबार बिहान प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर बरामद भएको रकम र पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विशेष सूचनाको आधारमा काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ज ०७६५ नम्बरको यात्रुवाहक इभी माईक्रोबाट प्रहरीले तीनजालाई पक्राउ गरेको जनाएको छ । हेटौँडा–१, चौकीटोलस्थित प्रहरी चेकपोष्टमा इभी गाडीलाई रोकेर सुरक्षाजाँच गर्दा भारतको उत्तर प्रदेश जालौन बस्ने ४० वर्षीय विजयसिंह कुशवाह, उत्तर प्रदेशकै गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र भारतको राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावतलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार कुशवाहाको साथबाट १२ हजार अमेरिकी डलर, पाठकको साथबाट १४ हजार युरो र माण्डावतको साथबाट २० हजार अमेरिकी डलर बरामद भएको थियो । उनीहरुको साथबाट ३२ हजार अमेरिकी डलर र १४ हजार युरो बरामद भएको हो । बरामद भएको अमेरिकी डलरको नेपाली बजार मुल्य ४३ लाख २० हजार ५१५ रुपैयाँ र युरोको १९ लाख ६९ हजार ५१५ रुपैयाँ गरी जम्मा कुल ६२ लाख ९० हजार ३५ रुपैयाँ हुने प्रहरीले बताएको छ ।
इभी गाडीमा सवार उनीहरुलाई शरीर तथा झोलाको तलासी गर्ने क्रममा विदेशी मुद्रा बरामद भएको प्रहरी उपरीक्षक खड्काले बताए । उनीहरुलाई चेकपोइन्टमा रोकी झोला खानतलासी गर्दा अमेरिकी डलर केही थान फेला परेको उनले बताए । खड्का का अनुसार कार्यालयमा ल्याएर शरीर खानतलासी गर्दा लगाइरहेको उनीहरुले लगाएकाे अन्डरवेयर भित्र अमेरिकी डलर र युरो बरामद भएकाे हाे । पक्राउ परेकाहरुले काठमाडौंमा क्यसिनोमा खेलेर फर्किएको प्रारम्भिक बयान दिएका छन् । पक्राउ गरिएकाहरु माथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय काठमाडौं पठाउने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।