काठमाडौं, ९ मंसिर ।
साहित्यकार मीना चौलागाईंको मुक्तकसङ्ग्रह `मनोकाङ्क्षा´ विमोचन भएको छ । शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौंमा प्रतिष्ठानका कुलपति भुपाल राइले चौलागाईको दोस्रो मुक्तकसङ्ग्रह ‘मनोकाङ्क्षा’ विमोचन गरेका हुन् ।
कार्यक्रममा कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झट्का उत्पन्न गर्न सक्ने, दर्शनढुङ्गा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नु पर्छ भन्दै मुक्तककार चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न समक्ष रहेको बताए । प्राज्ञ डा. कौशिला रिसालले चौलागाईंकाे ‘मनोकाङ्क्षा’ को समीक्षा गर्दै मुक्तकसङ्ग्रहमा प्रेम तथा शृङ्गारिक मनोभावना व्याप्त रहेको बताइन् । ‘मनोकाङ्क्षाले सुखदुःख, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण गर्न सक्षम भएको छ’ रिसालले भनिन् ।
कार्यक्रममा वरिष्ठ मुक्तककार ज्ञानुवाकर पौडेल, नियात्राकार प्रतीक ढकाल, कवि- कलाकार रमेश पौडेल, मुक्तककार सुनिल अधिकारी, कृतिकारकी गुरु कोमल ढुङ्गेल, कृतिकारकी सुपुत्री आयुश्री चौलागाईंले कृति र कृतिकारको चर्चा गर्दै कृतिगत सफलताकाे शुभकामना दिएका थिए । लोकार्पित मुक्तकसङ्ग्रहबाट पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले तीन/तीनवटा मुक्तक वाचन गरेका थिए ।
मुक्तककार चौलागाईंले मनोकाङ्क्षा’ मुक्तक संग्रहको विमोचन हुनु अत्यन्त गर्व र विशेष क्षण भएकाे बताइन् । मुक्तक लेखनका लागि सरल भाषा तर गहिरो अभिव्यक्ति हुनुपर्ने उनकाे भनाई थियाे । आफू पहिलेदेखि नै मुक्तक विधामा प्रतिबद्ध भएर लागेको र यो दोस्रो कृतिबाट थप जिम्मेवारी महसुस भएको लेखक चौलागाईंको भनाई छ । मनोकाङ्क्षामा विभिन्न भाव र विषयका ३१२ वटा मुक्तक समेटिएका छन् । चौलागाईंको यस अगाडि पनि मुक्तक मिनार मुक्तकसङ्ग्रह सार्वजनिक भैसकेको छ ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षता तथा प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइले प्रमुख आतिथ्यता भएकाे कार्यक्रममा महासचिव यादव भट्टराईले सहजिकरण गरेका थिए ।