भरतपुर, ९ मंसिर ।
साहित्य संगम चितवनले १६औं मदनमोहन जोशी स्मृति पुरस्कार साहित्यकार शिवराज शर्मा लामिछानेलाई प्रदान गरेको छ । पुरस्कार मदनमोहन जोशीकी धर्मपत्नी पूर्णिमा जोशीको हातबाट लामिछानेलाई प्रदान गरिएको हो ।
नारायणी नमुना माध्यमिक विद्यालयमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार लामिछानेलाई नगद रु २० हजार र सम्मानपत्रले सम्मान गरिएको हो । उक्त पुरस्कार स्वर्गीय जोशीका परिवारले स्थापना गरेका हुन् ।
पुरस्कृत व्यक्तित्व लामिछानेका दुईवटा कवितासङ्ग्रह `वैशाख लाग्यो´ र `जीवनको खोजीमा´ प्रकाशित छन् ।
विसं २०२६ सालदेखि शिक्षण पेशामा आबद्ध लामिछाने निवृत्तपछि पनि विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।
लामिछानेले पुरस्कार पाएपछि पुनर्जीवन पाएको अनुभूति गरेको बताए । जीवनमा केही गरेको गौरव भएको बताउँदै उनले जीवन संघर्ष हो र संघर्षमा नै बिताउनुपर्नेमा जोड दिए ।
समीक्षक धनेश्वर भट्टराईले स्वर्गीय मदन मोहन जोशी आदर्श, प्रेरक व्यक्तित्व, सिद्धान्तनिष्ठ र सामाजिक अगुवा भएको चर्चा गरे ।
कुल २ लाख ५० हजार राशिको कोषमा जोशीको परिवारले ५० हजार नगद थपेको पूर्णिमा श्रेष्ठले जानकारी दिइन् ।
साहित्य संगम चितवनका उपाध्यक्ष राजेन्द्र घायलको सभापतित्वमा भएको कार्यक्रममा संगमका पूर्व अध्यक्ष पोषराज पौडेल, साहित्यकार लकाश पौडेल, प्राडा नारायणप्रसाद खनाल, डीआर पोखरेल, जगन्नाथ पण्डित, होमनाथ घिमिरे, कृष्णप्रसाद पोखरेल, साहित्य संगम चितवनका कोषाध्यक्ष गङ्गा भट्टराईलगायतले स्वर्गीय मदनमोहन जोशी र पुरस्कृत व्यक्तित्व शिवराज लामिछानेको व्यक्तित्व र योगदानको बारेमा चर्चा गरेका थिए । साहित्य संगम चितवनका सचिव उषा तिवारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।