भरतपुर, ५ मङ्सिर ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारीले २४औँ स्थापना दिवस मनाएको छ । यो क्लव २००१ नोभेम्बर २० का दिन स्वर्गीय लक्ष्मीचरण श्रेष्ठको अध्यक्षतामा स्थापना गरिएको थियो । स्वर्गीय श्रेष्ठ नारायणगढमा रहेको बालकुमारीका पूर्व प्रधानाध्यापक पनि रहनुभएको थियो । स्थापना कालदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो फरक पहिचान बनाउन सफल यस क्लबले स्थानीय स्तरमा समेत प्रशंसनीय सामाजिक सेवाका कामहरु निरन्तर रुपमा गरिरहेको छ ।
त्यस्तै २४ औं स्थापना दिवस मनाउने क्रममा बुधबार नारायणगढमा रहेको कन्या माध्यमिक विद्यालयमा तातो चिसो पानीको डिस्पेन्सर वितरण गर्ने तथा कक्षा १०,११ र १२ का करिब १०० जना विद्यार्थीहरुको रक्त समूह पहिचान गर्ने कार्यक्रम गरेको थियो ।
क्लवका अध्यक्ष शेरबहादुर पौडेलको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा क्लवका संस्थापक सदस्य तथा पूर्वअध्यक्ष लोकबहादुर रानाभाट प्रमुख अतिथि रहनुभएको थियो भने बालकुमारी कन्या माद्यमिक विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद वाग्ले, सहायक प्रधानाध्यापक अर्जुनप्रसाद भट्ट, निमावि तह प्रमुख खगराज ओझा, निर्णायक डायग्नोसिस रेफरल ल्याबका ल्याव टेक्निसियनद्वय शोभा पौडेल र मुन्नाकुमार तथा रोटर्याक्ट क्लव अफ भरतपुरका सचिव सुशान्त रेग्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वाग्लेले सामाजिक सेवाको क्षेत्रमा काम गर्ने क्लवले निरन्तर सम्झिएर विविध कार्यक्रम मार्फत विद्यालयलाई प्राथमिकतामा राखी कार्यक्रम गरिराखेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै क्लवको दीर्घकालीन र अनवरत सफलताको कामना तथा बधाई व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि संस्थापक सदस्य लोकबहादुर रानाभाटले हिजोजस्तो स्थापना गरेको क्लव आज २४ वसन्त पूरा गरिसकेको छ र क्लवले लायन्स ईन्टरनेशनल र डिष्ट्रिक्टमा अलग्गै छवि, पहिचान र उचाई बनाएको स्मरण गर्दै आगामी दिनहरुमा समेत अझै सफलता प्राप्त गर्ने पथमा लागिरहनका लागि प्रेरणा मिलोस् भन्ने कामना गर्दै बधाई व्यक्त गर्नुभएको थियो ।
क्लवले विद्यालयको माग अनुसार २ थान तातो चिसो पानीको डिस्पेन्सर विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेको थियो भने कक्षा १०, ११ र १२ मा अध्ययनरत ८५ विद्यार्थीहरुको रक्त समुह पहिचान गर्ने काम भरतपुरको चौबिसकोठीमा रहेको निर्णायक डायग्नोसिस रेफरल ल्याबको सहयोगमा सम्पन्न गरेको क्लब अध्यक्ष शेरबहादुर पौडेलले जानकारी दिनुभयो । कार्यक्रम सञ्चालन क्लवका सदस्य सबिन पौडेलले गर्नुभएको थियो ।