गैंडाकोट, ४ मङ्सिर ।
गैंडाकोट नगरपालिकाभित्रका जनतालाई भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले विशेष सेवा दिने भएको छ ।
गैंडाकोट नगरपालिका र चितवन मेडिकल कलेजबीच नगरपालिका परिसरमा मङ्गलबार उक्त सम्झौता भएको हो । सम्झौताअनुसार गैंडाकोट नगरपालिकाभित्रका जनताले होलबडी चेकअपमा ५० प्रतिशत र अन्य सम्पूर्ण उपचारमा २५ प्रतिशत र अस्पतालको फार्मेसीमा सात प्रतिशत छुट पाउने भएका हुन् । अस्पताल बाहिरी बजारबाट खरिद गरेका सामानमा भने छुट सुविधा नदिने उक्त सम्झौतामा उल्लेख छ ।
चितवन मेडिकल कलेज अस्पताल निर्देशक प्रा.डा दयाराम लम्साल र गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नगरका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, चितवन मेडिकल कलेज निर्देशक प्रशासनका प्रताप देवकोटा र अस्पताल फार्मेसीका सरोजप्रसाद ज्ञवाली साक्षीका रूपमा रहेका थिए ।
छुट सुविधा लिनका लागि नगरले उपचार कार्ड उपलब्ध गराउने र कार्ड उपलब्ध नहुँदासम्म नगरको सिफारिसका आधारमा छुट सुविधा पाइनेछ । स्वास्थ्य बिमा, विपन्न र मेडिकल लिगल केसमा भने नगरवासीले छुटको दाबी गर्न पाउने छैनन्। सम्झौता पत्रमा नगरले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रमहरू भएमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति अस्पतालले उपलब्ध गराउने उल्लेख गरिएको छ । साथै सम्झौता पत्रमा नगर प्रमुखले थप सेवा सुविधा आवश्यक परेको खण्डमा थप उपचारका लागि दश प्रतिशतसम्म छुट सिफारिस गर्न सकिने र चितवनको सिएमसी क्यान्सर इन्स्टिच्यूटमा सञ्चालित सिटीईभिटीको पढाईमा बिचार्थीहरुलाई समेत दश प्रतिशत छुट सिफारिस गर्न सक्ने बताइएको छ ।