चितवन, ३ मङ्सिर ।
माडी नगरपालिकाको विभिन्न वडाका महिलाहरूलाई नारायणगढ लायन्स क्लबले निःशुल्क सिलाइकटाइ तालिम दिएको छ । तीन महिनासम्म सञ्चालन हुने गरेको उक्त तालिम हालसम्म दुई सय ७५ जना महिलाले लिइसकेका छन् ।
नारायणगढ लायन्स क्लबले सोमबार माडी-४, शीतलपुरमा आठौँ समूहको तालिम समापन र नवौँ समूहको तालिम उद्घाटन गरेको छ । माडी-१, गर्दीमा सम्पन्न आठौँ समूहका सहभागी ४३ जनालाई सहभागिताको प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो । नवौँ समूहमा ४० जना महिला सहभागी छन् ।
तालिम समापन र उद्घाटन कार्यक्रम छुट्टाछुट्टै ठाउँमा आयोजना गरिएको थियो । दुबै कार्यक्रम नारायणगढ लायन्स क्लबका अध्यक्ष राजु पियाको अध्यक्षतामा सम्पन्न भएको थियो । ती कार्यक्रममा क्लबका पूर्वअध्यक्ष एवं लायन जितबहादुर पिया व्यावसायिक तालिम केन्द्रका संरक्षक शान्तकुमार पियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उनले महिलाहरू सीप सिकेर आत्मनिर्भर बनून् भन्ने उद्देश्यले तालिम दिइएको बताए ।
तालिम समापन र उद्घाटन कार्यक्रममा तालिम संयोजक कृष्ण धिताल, प्रशिक्षक भरत परियार, सहायक प्रशिक्षक सबिना महतो, स्थानीय सहजकर्ताद्वय धनबहादुर गुरूङ, श्रीकृष्ण महतो लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिमका लागि आवश्यक सम्पूर्ण कपडा नारायणगढस्थित मिलन कपडा पसलले सौजन्य गरेको यसका सञ्चालक निरज श्रेष्ठले बताए ।