मकवानपुर, २ मङ्सिर ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन अन्तरगत आइतबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ ।
हेटौंडा-१२ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीसहित अन्य दल तथा स्वतन्त्र समेत गरी १४ जना उम्मेदवारले उम्मेदवारी दिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
कार्यालयका अनुसार ९ जना दलका उम्मेदवार र ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ सालकाे स्थानीय तहकाे निर्वाचनमा हेटौंडा १२ काे वडाध्यक्ष पदमा विजयी ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरकाे प्रमुख निर्वाचित भएपछि रिक्त रहेकाे पदमा उप निर्वाचन हुन लागेकाे हाे ।
हेटौंडा-१२ मा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादीका रविनकुमार प्रधानले उम्मेदवारी दिएका छन् । यसैगरी राप्रपाबाट प्रेमबहादुर भ्लोन, रास्वपाका आशाबिर बल, जसपाका छविलाल वाईबा, मंगोल नेशनल अर्गनाइजेशनका दीपा लामा, नेमकिपाका फूलमाया तितुङ, नेकपा एसबाट बलराम बलले उम्मेदवारी दिएका छन् । यस्तै स्वतन्त्रतर्फ अर्जुन घलान, कुमार पोखरेल, गीताकुमारी नेवार, छत्रप्रकाश अधिकारी, युनेश लामा सिन्तानले उम्मेदवारी दिएकाे कार्यालयले जनाएकाे छ ।
आगामी मङ्सिर १६ गते विभिन्न कारणले रिक्त रहेका जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ । रिक्त रहेका ४४ पदका लागि हुने उपनिर्वाचन मध्येको एक स्थान हेटौँडा नगरपालिका वडा नम्बर १२ हो ।
वडा अध्यक्षमा २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा प्रमुख तीन पार्टीबीच तीब्र प्रष्तिप्रर्धा भएको थियो । अव हुने उपनिर्वाचनमा समेत अवस्था उस्तै रहेकाे देखिन्छ । गतचुनावमा हेटौंडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत प्राप्त गरेका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए ।
गतनिर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन् । विजय भएका माओवादीका घलान र निकटतम प्रतिद्वन्दी काँग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्राे स्थानमा रहेका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो । गतनिर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था भने देखिँदैन ।