मकवानपुर, २८ कात्तिक ।
बागमती प्रदेश सरकारले एक सय दिनकाे उपलब्धि सार्वजनिक गरेको छ । बुधबार मुख्यमन्त्री बहादुरसिंह लामा सहित प्रदेश सरकारका मन्त्रीहरु र सचिवहरुले सरकारले एक सय दिनकाे अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेको हो ।
आफ्नो नेतृत्वमा सरकारको गठन भएदेखि हालसम्मको कार्य तथा निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री बहादुरसिंह लामाले यस अवधिमा आफूले सरकारको जग बसाल्ने काम गरेको दाबी भने गरे ।
‘कुनै पनि सरकार गठन भएको सय दिनमै उथलपुथल हुने गरी काम गर्न सक्दैन´ मुख्यमन्त्री लामाले भने- ‘विपद्को समयमा सरकारले धेरै काम गरेको छ ।’ मुख्यमन्त्री लामाले अघिल्लो सरकारले ल्याएको बजेटका कारण आफ्नो भिजनअनुसार काम गर्न नसकिएको बताए । ‘बजेट एउटा सरकारले ल्यायो । अहिले कार्यान्वयन हामीले गर्नुपर्ने अवस्था छ । मुख्यमन्त्री लामो प्रदेश सरकार नीतिगत सुधारको काम गरिरहेको दाबी गरे । उनले सय दिनको अवधिमा सुशासन र विकासका लागि आधारहरु तयार गर्ने काम भएको बताए । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कार्यविधि निर्माणलगायतका कार्यहरु गरिएको उनले जानकारी दिए ।
सय दिनकाे अवधिमा प्रदेश सरकारलाई संस्थागत रुपमा सुदृढ गर्न तीन वटा ऐन जारी भएको, बागमती प्रदेश सरकारको दोस्रो आवधिक योजना कार्यान्वयनमा ल्याइएको, भौतिक पूर्वाधार विकास कार्यलाई प्रभावकारी बनाइएको लगायतका प्रगति सार्वजनिक गरिएको छ । प्रदेश सरकारले सय दिनमा देखिने गरी उपलब्धिमूलक कामहरु गरेकाे देखिँदैन भने सरकारले नियमित कामलाई नै उपलब्धिका रुपमा सार्वजनिक गरेकाे छ ।