मकवानपुर, २८ कात्तिक ।
हेटौंडामा श्रवण मुकारुङका एकल कविता वाचनसहित सांगीतिक साँझ कार्यक्रम हुने भएको छ । साहित्य संगम मकवानपुरको आयोजनामा मुकारुङकाे कविता वाचनसहित सांगीतिक साँझ हुने भएकाे छ ।
साहित्य संगम मकवानपुरको अक्षयकोष सहयोगार्थ आगामी मंसिर ७ गते कवि मुकारुङका एकल कविता एवम् सांगीतिक साँझ हुने भएको हो । यसअघि भदौ १ गते कार्यक्रम हुनेगरी मिति तय भएकाेमा मुकारुङको स्वास्थ्य अवस्थाका कारण स्थगित गरिएको संगम अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए । सांगीतिक साँझ कार्यक्रममा श्यामकुमार बानियाँ, अन्जन दहाल, सुनिता बुर्लाकोटी, रमेश गहतराज, लालकाजी परियार र बाल प्रतिभा प्रसिद्धि लामिछानेको प्रस्तुति रहने उनले बताए ।
कविता वाचन तथा सांगीतिक साँझ हेटौंडा उपमहानगरपालिका ४ स्थित हेटौंडा पार्टी प्यालेसमा हुने संगम सचिव मनोज पोखरेलले बताए । पोखरेलका अनुसार कार्यक्रममा सहभागिताकाे लागि प्रतिव्यक्ति ५ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । संगमकाे अक्षयकोषको लागि टिकटकाे व्यवस्था गरिएकाे उनले बताए ।
नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकारको रुपमा परिचित मुकारुङको देश खोज्दै जाँदा (२०४९), जीवनको लय (कवितासङ्ग्रह, २०६०), हिउँको दरबार (गीतसङ्ग्रह, २०५३), यलम्बर (नाटक, २०५३), फूलको आवाज (२०५५), बिसे नगर्चीको बयान र अन्य कविता (भीसीडी, २०६३) लगायत प्रकाशित छन् । यसैगरी उनकाे हजुर हजुर ए हजुर, सुनकोशीको सुनको पानी, तिमी तारे भिर, बाटो हेरे हुन्छ आमा, माथी माथी सैलुङगेमा गीतहरु प्रकाशित रहेका छन् ।
मुकारुङ सर्वश्रेष्ठ गीतकार (रेडियो नेपाल,२०४७), राष्ट्रिय कविता महोत्सवमा द्वितीय (२०४८), राष्ट्रिय कविता महोत्सवमा प्रथम (२०५३), युवा स्रष्टा सम्मान (२०५६), रवीन्द्र गीत सम्मान (२०५६), मोहन रेग्मी स्मृति पुरस्कार (२०५९), युवा वर्ष मोती पुरस्कार (२०६०), समय सम्मान (२०६२), लोकेन्द्र साहित्य पुरस्कार (२०६२), जीवन स्मृति पुरस्कार (२०६३), शुभप्रभात काव्य सम्मान (२०६३), स्रष्टा सम्मान (२०६४), विशिष्ट सम्मान (सन् २००७) जस्ता सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन् ।