चितवन, २८ कात्तिक ।
खैरहनी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादनको समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा सम्पन्न गरेका योजना, नीति तथा कार्यक्रमहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । २०८१ कार्तिक २८ गते नगरपालिकाको सभाहलमा सञ्चालन भएको समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ मा नगरपालिका भित्रका विषयगत शाखा र १३ वटै वडाबाट वार्षिक रूपमा सञ्चालन भएका आयोजना, कार्यक्रमको भौतिक र वित्तीय प्रगति, योजना तथा कार्यक्रमको
कार्यान्वयनमा आएका समस्या तथा चुनौती र आगामी दिनमा नगरपालिकाले अवलम्बन गर्नुपर्ने समाधानका नीतिगत उपायको बारेमा अन्तरक्रिया गरिएको नगरपालिकाले जानकारी दिएको छ ।
वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनियाले सबैको साथ सबैको विश्वासले खैरहनीबासीले अनुभूति गर्ने गरी कार्यसम्पादन गर्ने प्रयत्न गरेको उल्लेख गर्नुभयो ।
उहाँले नगरपालिका भित्र रहेका समस्याको समाधान तथा नगरबासीको विकासको आकांक्षा सम्बोधन गर्ने गरी कार्यसम्पादन गर्न सरोकारवाला सबैको सकारात्मक सहयोग र समन्वय रहनु पर्ने विषयमा जोड दिनु भयो ।
नगर प्रमुख खनियाले गत आर्थिक वर्षमा नगरपालिकाबाट भएका कार्यहरुको सवल पक्ष, सुधार गर्नुपर्ने काम, चुनौति र अपनाउनु पर्ने रणनीतिको बारेमा आ-आफ्नोतर्फबाट सकारात्मक पहल कदमी लिन सरोकारवाला सबैमा अनुरोध गर्नुभयो । सधैँ झैँ नगरपालिकाले कार्यान्वयन गरेका विकास योजनाहरुलाई गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न सबै पक्षसँग हातेमालो गर्दै अगाडि बढ्ने नगरप्रमुख खनियाको बताउनु भयो ।
समीक्षा कार्यक्रममा बोल्दै नगर उपप्रमुख कविता उप्रेतीले विकास निर्माणको गुणस्तर र दिगोपनाको लागि जनप्रतिनिधि तथा कर्मचारी मात्रै नभएर सरोकारवाला सबैको सार्थक र निरन्तर पहल हुनुपर्ने बताउनु भयो । उपप्रमुख उप्रेतीले नगरपालिकाले सधैँ जनअपेक्षालाई शिरोधार्य गरेर
कार्यसम्पादन गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरुमा समेत यसलाई निरन्तरता दिने बताउनु भयो । वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाको सम्पूर्ण शाखा र वडा समेतबाट आर्थिक वर्ष २०८०/८१ मा भएका कार्य सम्पादनबाट नगरपालिकाले प्राप्त गरेका उपलब्धिको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले प्रस्तुतिकरण गर्नु भएको थियो ।
नगरप्रमुख शशी कुमार खनियाको अध्यक्षतामा सम्पन्न भएको वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवाला व्यक्तिको सक्रिय सहभागिता रहेको नगरपालिकाको योजना शाखा प्रमुख नवीनराज
रुवालीले जानकारी दिनुभयो ।