भरतपुर, २७ कात्तिक ।
लेखक धनराज गिरिको नयाँ कृति Grand father’s letters to his grandkids कृति विमोचन गरिएको छ ।
नेपाल मावि रत्ननगरमा कक्षा १० मा पढ्ने सर्वज्ञा पौडेल, अङ्कुरम् एकेडेमी भरतपुरमा कक्षा ८ मा पढ्ने आशीर्वाद सापकोटा र गैंडाकोट इङ्लिस स्कुलमा कक्षा ७ मा पढ्ने अभिश्री कँडेलले कृति विमोचन गर्नुभएको हो ।
मंगलबार सम्पूर्ण किताब नारायणगढमा आयोजित कार्यक्रममा उदय अधिकारी, गोकर्ण मल्ल, भानुप्रकाश उपाध्याय, तिलकराज शर्मा, हेमराज शर्मा, रामबाबु घिमिरे, रमाकान्त सापकोटा र प्रेम रिमालले मन्तव्यसहित पुस्तकका बारेमा बोल्नुभएको थियो ।
पुस्तकमा हजुरबुबाले नातिनातिनाका लागि लेखेका चिट्ठीहरू छन् । विमोचन कार्यक्रममा वक्ताहरुले यी चिट्ठी बाबुनानीका लागि प्रेरणादायी हुने धारणा राख्नुभएको थियो । विद्यालयले विद्यार्थीलाई अतिरिक्त पुस्तक अध्ययन र समीक्षा कार्यक्रममा यो पुस्तक सिफारिस गर्न उपयोगी हुनेसमेत वक्ताहरुले बताउनु भयो ।पुस्तकका अग्रज व्यक्तिहरूका मन्तव्य पनि राखिएको छ ।
लेखक गिरिका छोरीहरू अनिता, कविता र छोरा आरजु प्रकाशक रहेको पुस्तकको मूल्य३००/- रहेकोे छ । पुस्तकमा १४४ पृष्ठ छन् । विशेषगरी गजल र व्यङ्ग्य लेखनमा सक्रिय गिरिको यो पन्ध्रौँ पुस्तक हो ।