मकवानपुर, २७ कात्तिक ।
बागमती प्रदेश सरकारले प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर १४ बनाएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा यसअघि रहेको १३ मन्त्रालयबाट विभाजन गरी १४ मन्त्रालय बनाएको हो ।
मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी कार्यविभाजन समेत स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गर्ने निर्णय गरेको छ । कार्यविभाजन अनुसार उक्त मन्त्रालयमा मन्त्रीको जिम्मेवारी भने तोकिएको छैन । प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद्काे कार्यविभाजन अनुसार बढाइएकाे मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने बताइएकाे छ ।
गत साउन ९ मा मुख्यमन्त्री लामाले नियुक्त गरेका कांग्रेसका मधुकुमार श्रेष्ठले जिम्मेवारी पाउन सकेका थिएनन् । साउन १२ मा सरकारलाई पूर्णता दिएर साउन १५ मा विश्वासको मत लिँदै सरकार सुरक्षित गरेका उनले प्रदेशको १३ मन्त्रालयमा कांग्रेसका ७ र एमाले ६ मन्त्री नियुक्त गरेका थिए ।