मकवानपुर, २७ कात्तिक ।
हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङमा ट्याङ्करको टायर पड्किएर पसल सञ्चालकको मृत्यु भएको छ ।
सोमबार राति १ बजेको समयमा मधेश प्रदेश ०३–००२ ख ०३०० नम्बरको पेट्रोल लोड भएको ट्याङ्करको पन्चट भएको टायर खोलेर मर्मतपछि हावा भर्ने क्रममा टायर पड्किएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
घटनामा टायर पसलका सञ्चालक छिमेकी मुलुक भारतको भोजपुरका ३४ वर्षीय महमद ऐजाजको मृत्यु भएको छ । टायर पड्किएर गम्भीर घाइते भएका महमदको उपचारको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै टायर मर्मत पसलका कामदार पर्सा जिल्लाको धोबिनी गाउँपालिका–२ का १८ वर्षीय जाबिर हवारे, ट्याङ्कर चालक हेटौँडा–११, स्मारकका ३९ वर्षीय देवान लामा, हेटौँडा–११ नवलपुरका ४७ वर्षीय मोहनलाल दुलाल, सहचालक धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–२, भञ्ज्याङपोखरीका २३ वर्षीय उत्तम बस्नेत, धादिङ जिल्लाकै थाक्रे गाउँपालिका–८ का ३८ वर्षीय लक्ष्मण थापा घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो ।
गम्भीर घाइते महमदलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । डाक्टरले मंगलबार बिहान ४ बजेर १६ मिनेटको समयमा महमदलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको र अन्य घाइते डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।