कालिका, २४ कात्तिक ।
मानिसहरु प्राय: जन्मदिन भन्नेवित्तिकै केक काट्ने, पार्टी गर्ने, उपहार दिनेलिने साथै परिवार आफन्त र साथीभाइसँग रमाइलो गर्ने गरेको पाइन्छ । तर पछिल्लो समय सामाजिक कार्यमा संलग्न भएर जन्मदिनलाई उत्सवको रुपमा मनाउनेहरु बढ्दै गएका छन् । यसरी गरिने कर्मले मनमा छुट्टै खुसी र शान्तिको अनुभूति हुने गरेको उनीहरुको भनाई छ ।
यस्तै व्यक्तिमध्येको एक हुनुहुन्छ, कालिका नगरपालिका वडा नम्बर ५ का ईश्वरीप्रसाद दाहाल । दाहालले कात्तिक २४ गते परेको आफ्नो जन्मदिन आदर्श गृहमा आश्रित महिला तथा बालबालिकालाई वनभोज आयोजना गरेर मनाउनुभयो । उहाँले आफ्नो जन्मदिनलाई सामाजिक सेवा र दान गर्ने अवसरमा रुपमा प्रयोग गर्न पाउँदा धार्मिक विधिअनुसार सप्ताह लगाएभन्दा बढी पुण्य मिलेको महसुस गरेको बताउनुभयो । `गतवर्षहरुमा मैले साथीभाइसँग फजुल खर्च गरेर जन्मदिन मनाउँथेँ तर यसपटक केही फरक गर्न मन लाग्यो र संस्थासँग अनुरोध गरी वनभोज आयोजना गरिएको हो´ उहाँले भन्नुभयो ।
उहाँको जन्मदिनलाई उत्सव बनाउन चाँजोपाँजोको समन्वय आदर्श नारी विकास केन्द्र कालिका शाखाले गरेको हो । संस्थाका सल्लाहकारसमेत रहनुभएको दाहालले हिंसाप्रभावित महिला तथा बालबालिकाको सेवाका लागि केही फरक गर्ने सोच भएको बताएपछि संस्थाका संस्थापक मीना खरेल र अध्यक्ष उषा खरेल सुवेदीसँग समन्वय गरेर वनभोज कार्यक्रम गरिएको शाखा अध्यक्ष मेनुका थापा अधिकारीले जानकारी दिनुभयो ।
संस्थाका संस्थापक मीना खरेलले जन्मदिनलाई सेवामा समर्पित गर्नुहुने दाहाल र उहाँको परिवारको कार्यको खुलेर प्रंससा गर्नुभयो । असल संस्कार र शिक्षा दिने बुवाआमाकै कारण दाहालले आफ्नो जन्मदिन अभिभावकविहिन र हिंसाप्रभावितको खुसीका लागि समर्पण गर्न सकेको बताउनुभयो । `मैले आफैँले गृहमा अक्षयकोष स्थापना गरेर जन्मदिन मनाउन शुरु गरेकी हुँ´ उहाँले भन्नुभयो – `विगत १७ वर्षदेखि निरन्तर प्रत्येक वर्ष संस्थाको मासिक भाडा र भोजन सेवा समर्पण गरेर जन्मदिन मनाउँदै आएकी छु ।´
हाल गृहमा ९६ जना व्यक्ति र १३ वटा संस्थाले नियमित जन्मदिन मनाउने गरेको उहाँको भनाई छ । संस्थामा वार्षिक ४२ लाख खर्च हुने गरेको र यो सबै व्यक्तिगत र संस्थागत सहयोगबाट नै सञ्चालन हुने गरेको उहाँले बताउनुभयो ।
संस्थाका केन्द्रीय अध्यक्ष उषा खरेल सुवेदीले दाहालले गर्नुभएको उदाहरणीय कार्यको प्रसंशा गर्दै मानवताको सेवा नै जीवनको महत्वपूर्ण सेवा भएको उल्लेख गर्नुभयो ।
यस्तै शाखाका सल्लाहकार रमेशजंग थापाले ईश्वरी दाहालको रचनात्मक कार्यबाट आफू प्रभावित बनेको भन्दै आगामी वर्षदेखि आफू र आफ्नो परिवारको जन्मदिन संस्थामा नै मनाउने घोषणा गर्नुभयो । `यसअघि मैले रंगरमाइलोमा जन्मदिनको निहुँमा लाखौँ खर्च गर्ने थिएँ तर आगामी वर्षदेखि संस्थामै नै गएर मनाउँछु´ उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै दाहालका बुवा नीलकण्ठ दाहालले सानैदेखि सेवाको भावना भएको ईश्वरीले आजसम्म जन्मदिन मध्ये यस वर्षको जन्मदिन उत्कृष्ट भएको बताउनुभयो । यस्तै आमा टेककुमारी दाहाल, श्रीमती सरस्वती दाहाल, बुहारी शुष्मा दाहाल, दिदी सरिता दाहाल , छोरीहरु सम्पदा, समृद्धि, संस्कृति र सभ्यताले ईश्वरीप्रसाद दाहाललाई शुभकामना व्यक्त गर्नुभएको थियो ।
आदर्श नारी विकास केन्द्रले विशेषगरी शोषण दमन उत्पीडनमा परेकाहरुलाई पीडामा परेको बेलामा साथ दिँदै सामाजिक रुपमा सम्मानित र आर्थिक रुपमा आत्मनिर्भर बनाउने काम गर्छ । काम गर्ने सिलसिलामा असहाय अनाथ तथा विभिन्न प्रकारका हिंसामा परेकाहरुको आश्रयस्थलको आवश्यकता महसुस गरी २०६६ सालदेखि आदर्श गृह स्थापना गरी संचालनमा छ । संस्थामा हालसम्म ११९२ जनालाई पुनर्स्थापनापश्चात सीप शिक्षा र आत्मनिर्भर बनाई पारिवारिक र सामाजिक पुनर्मिलन गराईएको छ भने हाल ३१ जना संस्थामा आश्रित छन् ।