भरतपुर, २४ कात्तिक ।
भरतपुर महानगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । भरतपुर महानगरपालिका -१५ मंगलपुरमा गरिएको शिविरमा पाँचसय भन्दा बढी बिरामीले आँखा परीक्षण गराएका छन् ।
श्री जानकी नमुना टोल विकास समिति भरतपुर -१५ र नेत्रज्योति संघ भरतपुरको आयोजना तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा वृहत् आँखा परिक्षण शिविर गरिएको हो । शिविर राष्ट्रिय आधारभूत विद्यालय भरतपुर -१५ मङ्गलपुरको प्रांगणमा सम्पन्न भएको हो ।
साविक मंगलपुर गाविसका १,२ र ३ नम्बर वडालाई लक्षित गरिएको यस शिविरमा १८९ जनाले औषधी, १६१ जनाले निःशुल्क चस्मा, ३२ जनाले मोतियाबिन्दुको अप्रेशन र १२८ जनाले सामान्य उपचार गराएको जानकी नमुना टोल विकास संस्थाका अध्यक्ष सञ्जय पौडेलले बताए । त्यस्तै १७ जनाले नेत्रदान समेत गरेका छन् ।
शिविरमा यति धेरै विरामी देखिनुले वडामा आँखाको समस्या रहेको नेत्रज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठले बताए । उनले भने – ‘बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण हुन् ।”
परीक्षण गरिएका विरामी मध्य ६ प्रतिशतमा मोतियाविन्दु देखिएको थियो । मोतियाविन्दु रोगको उपचार शल्यक्रिया मात्र भएकाले अहिले भेटिएका मोतियाविन्दुका बिरामीलाई यहि २६ गते सोमबारबाट निःशुल्क शल्यक्रिया गरिने जानकी नमुना टोल सुधारका सचिव गोपाल कँडेलले बताए ।
वडामा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ वडामा निःशुल्क आँखा परीक्षण गरिएको सचिव कँडेलको भनाइ छ । शनिबारको परीक्षण पछि अब वडा स्तरीय वृहत् निःशुल्क आँखा शिविर गर्ने योजनाका साथ अघि बढ्ने उनको योजना रहेको छ ।
कार्यक्रममा भरतपुर आँखा अस्पतालका तर्फबाट रमेश घिमिरे, वडा नम्बर १५ का अध्यक्ष श्रीकृष्ण देवकोटा, जानकी नमुना टोल सुधार संस्थाका कार्यसमिति, नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको तर्फबाट नेत्र ज्योति संघ चितवनका सभापति जयराम श्रेष्ठ, निवर्तमान सभापति कृष्णराज धरेललगायतको उपस्थिति रहेको थियो ।