भरतपुर, २४ कात्तिक ।
चितवन साहित्य परिषद्ले ११६ औँ लक्ष्मीजयन्तीका अवसरमा विविध कार्यक्रम गरेको छ ।
शनिबार चितवन साहित्य परिषद् भवनमा आयोजित कार्यक्रममा चिसाप लीला – नर्मदा साहित्य पुरस्कार – २०८० बाट छन्दकवि प्रकाश चापागाईंको `कमिलाकाे प्वाँख´ कवितासङ्ग्रह र चिसाप भीष्मकान्त शिक्षा – साहित्य पुरस्कार – २०८१ शिक्षाविद् तथा साहित्यकार श्यामजी अतिथि सेढाईको निबन्धसङ्ग्रह `माटोको सुगन्ध´ लाई प्रदान गरिएको छ ।
कार्यक्रमका सभापति केदारनाथ खनाल र भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीले पुरस्कृत स्रस्टालाई दोसल्ला, सम्मानपत्र र नगदले सम्मान गरेका हुन् । चापागाईंलाई दिइएको पुरस्कारको राशि १५ हजार ४५ रुपैयाँ र सेढाईलाई दिइएको पुरस्कारको राशि २५ हजार ४५ रुपैयाँ रहेको छ ।
कार्यक्रममा कमिलाको प्वाँख कवितासङ्ग्रह बारेमा गणेश श्रमण र माटोको सुगन्ध निबन्धसङ्ग्रहका बारेमा पदम अर्यालले टिप्पणी राखेका थिए ।
कार्यक्रममा चिसापको मुखपत्र बागिश्वरी अङ्क ३१ र सुमित्रा अर्याल अधिकारीको `उत्पला´ कवितासङ्ग्रह विमोचन गरिएको छ । कार्यक्रममा जगन्नाथ पण्डितले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृतित्व र व्यक्तित्वबारेमा चर्चा गरेका थिए भने राजेन्द्र घायलसहित विभिन्न स्रस्टाले रचना वाचन गरेका थिए ।