सौराहा, २४ कात्तिक ।
कविडाँडा आख्यान पुरस्कार – २०८० प्राध्यापक कृष्ण गौतमलाई अर्पण गरिएको छ । कविडाँडा साहित्य समाज चितवनले शनिबार सौराहामा कार्यक्रम गरी `अद्वैत´ उपन्यासका लागि लेखक गौतमलाई उक्त पुरस्कार अर्पण गरेको हो । समाजका अध्यक्ष एलबी क्षेत्रीले दोसल्ला र सम्मानपत्रसहित १ लाख २५ हजार रुपियाँले गौतमलाई सम्मान गरे ।
पुरस्कार अर्पण कार्यक्रममा बोल्दै अध्यक्ष क्षेत्रीले अद्वैत उपन्यासले समाजमा दिन खोजेको सन्देशका बारेमा चर्चा गरे । वि.सं. २०८० मा प्रकाशित आख्यान अर्थात कथा र उपन्यासहरुमध्ये सर्वोत्कृष्ट भएका कारण ‘अद्वैत’ पुरस्कृत भएको क्षेत्रीले बताए ।
समीक्षक डा. एकनारायण पौड्यालले अद्वैत उपन्यासमाथि समीक्षा गर्दै यो कृति वर्षभरिकै उत्कृष्ट आख्यान भएको बताए । समीक्षक पौड्यालले अद्वैत उपन्यास नयाँ तथा युवा पाठकलाई छिचोल्न गार्हो लाग्न सक्ने भए पनि यसमा हाम्रो समाज कस्तो छ, राजनीति कस्तो छ भन्ने विषयहरु दार्शनिक तरिकाले समेटिएको धारणा राखे । उपन्यासमा निबन्ध, जीवनी, समालोचना, इतिहास र दर्शन समेटिएको उनले बताए ।
‘उहाँलाई मैले पुर्व र पश्चिमी दर्शनको ज्ञान भएको समालोचकका रुपमा चिनेको हो । उपन्यासमा त्यही कुरा प्रतिबिम्बित भएको छ’ पौड्यालले भने । उपन्यासमा अद्वैतलाई आधार बनाएर संसारमा रहेका अन्य दर्शनहरुको परिचय दिएको पौड्यालले बताए । उनले थपे, ‘त्यसैले यो औपन्यासिक दर्शनशास्त्र हो कि दार्शनिक उपन्यास के हो भन्ने जस्तो पनि भएको छ ।’ उपन्यास ३६८ पृष्ठको छ । तर उपन्यास सबैले सर्लक्क पढी भ्याउने बनाउन केही सुधारहरु गर्नुपर्ने देखिएको पौडेलको सुझाव थियो ।
कार्यक्रममा बोल्दै लेखक प्रा. गौतमले सम्मानले आफूलाई नयाँ पुस्तकको सृजनामा थप प्रेरणा जागेको बताए ।
कार्यक्रममा समीक्षक महेश पौडेलले नेपाली आख्यानका सन्दर्भमा मन्तव्य राखेका थिए । प्रा. गौतमको उपन्यास अद्वैतलाई यस अघि पद्मश्री पुरस्कारबाट सम्मान गरिएको छ ।
कार्यक्रममा भूपिन, रवीन्द्र समीर, प्रतीक ढकाल र प्राडा सावित्री कक्षपतीले शुभकामना मन्तव्य राखेका थिए ।
यसअघि ७५ सालमा महेश थापाको कथासङ्ग्रह मरीचिका, ७६ सालमा श्याम साहको कथासङ्ग्रह पथेर, ७७ सालमा भुवन ढुंगनाको उपन्यास परित्यक्ता र ७८ सालमा लोकराज भट्टको उपन्यास छाइलले कविडाँडा आख्यान पुरस्कार पाइसकेका छन् । गत वर्ष डा.देवीप्रसाद सुवदीको उपन्यास ‘मनु’ले यो पुरस्कार पाएको थियो ।
विस २०६० सालमा स्थापित भरतपुरको साहित्यिक संस्था कविडाँडा साहित्य समाजले विस २०७५ सालदेखि ‘कविडाँडा आख्यान पुरस्कार’ दिन सुरू गरेको हो । सुरुमा ३० हजार रुपैयाँको यो पुरस्कार गत वर्षबाट सवा लाख रुपैयाँको भएको हो ।