भरतपुर, २३ कात्तिक ।
शुक्रबार बिहान उदाँउदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसँगै यसपालिको छठ पर्व विधिवत समापन भएको छ । देशभर छठ मनाउनेहरुले आज नदी तलाउमा गएर उदाउँदो सूर्यलाई अर्घ दिएका छन् ।
चितवनको नारायणी किनारमा पनि छठीमाता तथा सूर्यलाई अर्घ दिन भक्तजनहरुको भीड देखिएको छ ।
नारायणघाटस्थित नारायणी नदी किनारमा छठ पूजा यसपालि भब्य रहेको उपस्थित दर्शनार्थीले बताएका छन् । सिङ्गारिएको नदी किनारमा ब्रतालु र दर्शनार्थीको उल्लेख्य उपस्थिति रहेको थियो । नारायणी किनारमा यसपालि छठ पूजाका लागि व्यवस्थापन तराई सामुदायिक सेवा समिति नारायणगढले गरेको हो ।
हरेक वर्ष चितवनमा छठ पर्वको चहलपहल क्रमश बढेको देखिन्छ । मिथिलाञ्चलमा बढी मनाइने छठ गर्नेको संख्या चितवनमा पनि वर्षेनी बढ्दै गएको छ । मधेश र मधेशीले मात्र मनाउने भनेर चिनिएको छठ पछिल्लो समयम मधेससहित पहाडका विभिन्न स्थानमा पहाडी समुदायका मानिसले पनि धुमधामका साथ मनाउन थालेका छन् ।
चितवनमा नारायणी किनारसँगै माडीनगरपालिकाको रिउ, बाँदर मुढे, चितई, रतनी खोला, राप्तीको पम्फा, ढुम्री, लोथर खोला, कालिका नगरपालिकाको खगेरी बुङ खोलामा छठको पूजा गर्ने गरिन्छ ।