देवचुली, २२ कात्तिक ।
देवचुली नगरपालिकामा किसानद्वारा उत्पादित सयपत्री फूल ५ लाख ४१ हजार रुपैयाँमा बिक्री भएको छ । तिहार केन्द्रित फूल तथा माला बिक्री गरी किसानहरूले उक्त रकम सङ्कलन गरेका हुन् । देवचुली नगरपालिकाले टेनिस बलका ४५७०० र कर्मा-५५५ का २००० बिरुवा गरि ४७७०० बिरुवा नगर भित्रका किसानलाई अनुदानमा उपलब्ध गराएको थियो ।
नगरपालिकाले बिरुवा खरिदका १ लाख २० हजार रुपैयाँ अनुदान दिएको र ३०० भन्दा बढी बिरुवा लिने ३३ जना किसानहरूले व्यवसायिक फूल खेती गरेको देवचुली नगरपालिका कृषि विकास शाखा प्रमुख गगन भट्टराईले बताए । किसानहरूलाई प्राविधिक सल्लाह र बिरुवाहरुको अवलोकन गरि बजारीकरणलाई समेत सहज बनाइएको उनले बताए । देवचुलीमा ६२९ केजी फूल बिक्रीबाट २ लाख पन्चानब्बे हजार ६ सय ३० आम्दानी भएको, २७५० वटा माला बिक्रीबाट २ लाख ३३ हजार ८ सय ८५ रुपैयाँ र ४००० फूलका बेर्ना बिक्रीबाट १२ हजार रुपैयाँ आम्दानी भएको जनाइएको छ ।
देवचुलीमा उत्पादित २५ केजी फूल र ५०० माला हङकङ निर्यात भएको र काठमाडौं, पोखरा, चितवनसहित देशका मुख्य सहरमा बिक्री भएको कृषि विकास शाखा प्रमुख गगन भट्टराईले बताए । नगरमा मुक्तिप्रसाद भुसाल र हरिप्रसाद पोखरेलले १० कठ्ठा बढी क्षेत्रफलमा फूल खेती गरेका उनले बताए ।
फूलको बीउमा शुद्धता नहुने र किसानहरुको खनजोत तथा कामदारमा लागत बढी हुने जस्ता समस्या देखिएका भट्टराईले जानकारी दिए । देवचुली नगरपालिकाले प्लास्टिकजन्य फूलमालामा प्रतिबन्ध गरेपछि सयपत्री फूलको माग अत्याधिक रहेको उनले बताए । अनुगमनका क्रममा प्लाष्टिकजन्य फूलमाला नभेटिए पनि पछि व्यवसायीहरुले प्लास्टिकजन्य मालाको बिक्री गरिएको जानकारी आएको उनले बताए । किसानका बारीमा अझै सयपत्री फूल रहेको र पूजाआजा तथा विभिन्न संगसंस्थाका कार्यक्रमका लागि माला बिक्री हुने किसानहरूले बताए ।