आजभन्दा ६० वर्षअघि नेपाली कागजमा बनाइन्थ्यो पात्रो र चिना । ती पात्रो र चिनामा सबै अक्षर र अङ्क हातैले लेखिन्थ्यो । अक्षरहरुको छेउछाउमा ससाना चित्रहरु पनि हुन्थे सर्प, पुतली, चरा, फूल, माछा, तारा, चन्द्र र सूर्यको । गैँडाकोटका चित्रकार भीमप्रसाद शर्माको चित्रकारिता तिनै पात्रो र चिनामा चित्र कोरेर सुरु भयो ।
‘म सानो छँदा बुवा पण्डित जुक्तिवल्लभ शर्माले चिना र पात्रो लेख्नुहुन्थ्यो । ती चिना र पात्रोभित्र बुवाले चित्र पनि कोर्नुहुन्थ्यो । म बुवाले चित्र कोरेको ध्यान दिएर हेर्थेँ’ पुराना दिन सम्झिँदै भीम भन्छन्, ‘एक दिन बुवाले मलाई पात्रोमा चित्र कोर्न दिनुभयो । पछि चिनामा पनि चित्र कोरेँ मैले । त्यति बेला बाँसको कप्टेरोबाट कलम बनाई मसीमा चोबेर लेख्ने र चित्र कोर्ने गरिन्थ्यो । मसी पनि झार र फुललाई थिचेर बनाउनुहुन्थ्यो बुवाले । मेरो चित्रकारिता त्यहीँबाट सुरु भएको हो ।’
समयसँगै चित्रकार भीमले चिना र पात्रोमा चित्र कोर्ने आफ्ना हातलाई साइनबोर्ड र क्यानभासमा दौडाउन थाले । बागलुङको सर्कुवास्थित जनता माध्यमिक विद्यालयबाट २०२९ सालमा एसएलसी दिएका भीमले त्यसपछि पोखराको पृथ्वी नारायण क्याम्पसमा आइएड पढ्दा दुर्गा बराल वात्सायनलगायतका पोखरेली चित्रकारहरुको काम हेरेर प्रेरणा लिए ।
पढाईपछि मुस्ताङमा शिक्षण कर्ममा रहँदा भीमको भेट छत्र थकालीसँग भयो । थकालीले साइनबोर्डमा रङ पोतेको देखेपछि भीमले पनि साइनबोर्डतिर हात हाले । २०३६ सालमा गैँडाकोटमा जग्गा किन्ने बेलामै परिचय भएका शिक्षक, चित्रकार एवं कवि गोविन्दराज विनोदीसँगको सामिप्यताले भीमलाई चित्रकारिताको दौडमा अगाडि बढ्न सहयोग गर्यो ।
२०३९ सालमा गैँडाकोटमा बसाइँ सरेपछि भीमले चित्रकार विनोदीसँग मिलेर नारायणगढमा सनसाइन आर्ट सञ्चालनमा ल्याए । ‘पछि विनोदी सर छापाखानातिर लाग्नुभयो । मैले आर्टको काम एक्लै अघि बढाएँ । केही समय फोटो स्टुडियो पनि चलाएँ’ भीम सुनाउँछन् ।
पच्चिस वर्षअघि चित्रकारितामा डिप्लोमा कोर्स गर्न क्यानडा गएका भीम ६ महिनापछि स्वदेश फर्किएर चित्रकलामा अगाडि बढे । नेपाल फर्केको पाँच वर्षपछि सन् २००४ मा उनी पुनः क्यानडा पुगे एकल चित्रकला प्रदर्शनीका लागि । ‘नमस्ते फ्रम नेपाल’ नाम दिइएको यो उनको दोस्रो एकल चित्रकला प्रदर्शनी थियो । त्यसअघि उनले सन् २००३ मा काठमाडौँमा पहिलो एकल चित्रकला प्रदर्शनी गरेका थिए ।
क्यानडापछि उनले काठमाडौँ, जर्मनी, गैँडाकोट, सौराहा र कपिलवस्तुमा एकल चित्रकला प्रदर्शनीको आयोजना गरिसकेका छन् । एकल चित्रकला प्रदर्शनीको उनको यो यात्रा रोकिएको छैन । कात्तिक २१ गते बुधबारदेखि मंसिर १२ गतेसम्म गैँडाकोटको जानकी ग्यालरीमा ‘कुण्डलिनी’ शीर्षकमा भीमको बाह्रौँ एकल चित्रकला प्रदर्शनी हुँदैछ । यस प्रदर्शनीमा ३७ वटा चित्र राखिएको जानकारी दिँदै उनले बिहान १० देखि साँझ ५ बजेसम्म चल्ने प्रदर्शनी अवलोकनका लागि कुनै शुल्क नलाग्ने बताए ।
प्रदर्शनीको आयोजना गैँडाकोट नगर प्रज्ञाप्रतिष्ठानले गरेको हो । यसको सहआयोजकमा कलावती आर्ट काउन्सिल रहेको छ । प्रदर्शनीलाई गैँडाकोट नगरपालिकाले सहयोग गरेको छ । भीमले तीन वर्षभित्र सिर्जना गरेका ३५ वटा एक्रेलिक र २ वटा आयल पेन्टिङ प्रदर्शनीमा राखिएको छ । योगको एउटा विधा कुण्डलिनीलाई वर्णन गर्ने ३७ वटा चित्र तयार भएपछि यसलाई समुदायमा ल्याउन प्रदर्शनीको आयोजना गरिएको उनले प्रष्ट पारे ।