माडी, १९ कात्तिक ।
समृद्धिका लागि युवा अभियान माडीले चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र (बफरजोन)को निर्वाचन बहिष्कार गर्न सार्वजनिक अनुरोध गरेको छ ।
सोमबार माडीमा सम्पन्न अभियानको बैठकले निकुञ्ज एवं मध्यवर्ती सम्बन्धी ऐन नियमहरुका कारण माडीका जनता र स्थानीय सरकार समेतले अनेकन समस्या झेल्नु परिरहेको उल्लेख गर्दै मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरुको निर्वाचन प्रक्रियामा सहभागी नहुन आम उपभोक्ताहरुलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
निकुञ्ज ऐन र मध्यवर्ती व्यवस्थाका कारण माडीबासी जनता र माडी नगरपालिकाले भोग्नु परिरहेका समस्याहरु हल नगरी अहिलेकै अवस्थामा निर्वाचन गर्न खोजे प्रतिरोध गर्नुका साथै चुनावमा उठ्नेलाई सामाजिक बहिष्कार गर्नेसम्मको कार्यक्रम तय गर्ने अभियानले जनाएको हो ।
मौजुदा निकुञ्ज ऐन र मध्यवर्ती सम्बन्धी व्यवस्थाकै कारण बर्षौंदेखि बसिआएको र नगरपालिकामा बहाल बिटौरी कर तिरेको जमीनको पनि जनताले लालपूर्जा पाउन नसकेको, सेतो पुर्जा बनेका गरीब किसानहरुले पनि लालपूर्जा पाउन नसकेको, हनुमानझुलाले न्याय पाउन नसकेको तथा जंगली जनावरले बालीनाली खाइदिँदा उचित क्षतिपूर्ति पाउन नसकेको अभियानले औंल्याएको छ ।
यसबाहेक निकुञ्ज ऐन र मध्यवर्ती सम्बन्धी व्यवस्थाकै कारण माडी नगरपालिकाले आफ्नै विकास निर्माणमा प्रयोग गर्न यहाँका खोलाका गिट्टी ढुंगा बालुवा निकाल्दा निकुञ्जलाई रोयल्टी दिनुपरेको तर प्राकृतिक प्रकोपको हानी स्थानीय स्वयंले ब्यहोर्नु पर्ने दर्दनाक अवस्था माडीले भोग्दै आएको साथै माडीबाट घरायसी तरकारी, निउरो, घरायसी तामा, माछा, घरेलु खाट, पलङ्ग दराज लैजान नपाउने अवस्था रहेको समस्या समेत औंल्याइएको छ ।
यसैगरी, निकुञ्ज ऐन र मध्यवर्ती सम्बन्धी व्यवस्थाकै कारण संविधानले दिएको स्थानीय सरकारको अधिकार पूणर्रुपमा पालन हुन नसकेको, निकुञ्जभित्र बाटो बन्न नसकेको साथै निकुञ्जभित्र बैंकल्पिक केबुल बिछ्याउने टेण्डर रद्द हुन पुगेको समेत औंल्याउँदै अभियानले मध्यवर्तीका कार्यालयहरुको आर्थिक पारदर्शिता महसुस नभएको समेत आरोप लगाएको छ ।
समृद्धिका लागि युवा अभियानको माग यस्तो छ :
१) के तपाईंले नगरपालिकाले लिएको १० वर्षभन्दा बढी समयदेखि हकभोग गरेको जग्गाको बाहालबिटौली कर तिरेर लालपुर्जा पाउनुभयो ?
२) सेतो लालपुर्जा बनेका गरिब किसानले रातो लालपुर्जा पाउनुभयो ?
३) हनुमानझुलाले किन न्याय पाएन ?
४) जंगली जनावरले खेती खाईदिँदा उचित क्षतिपूर्ति पाउनुभयको छ ?
५) संविधानले दिएको स्थानीय सरकारको अधिकार पूर्णरूपमा पालना गर्न पाएको छ ?
६) राष्ट्रिय निकुञ्ज भित्रको बाटो किन बनेन र अगाडि बढेको बैकल्पिक विद्युतीकरणको काम किन रोकीयो ?
७) बफरजोनका कार्यालयहरूका आर्थिक गतिविधिको पारदर्शीताको महसुस गर्नु भएको छ ? यो किन भैरहेको छ त ?
हामीले लामो समयदेखि माडीको विकास निर्माण र विभिन्न बेथितिका विषयमा निरन्तर खबरदारी तथा संवाद गरिराखेको आम माडीबासी बुवाआमा तथा दाजुभाइ दिदीबहिनीहरूलाई जानकारी नै छ । माडीको सम्पूर्ण भूभागलाई राष्ट्रिय निकुञ्जले बफरजोन क्षेत्रभित्र राख्दा सानासाना कामहरूमा समेत जनताले दु:ख पाएको सबैलाई जानकारी नै छ । आफ्नै लालपुर्जा भएको खोला किनारका जग्गा समेत तटबन्ध गरी खेती लगाउन बाधा पुर्याउने बफरजोन कै कारण सुकुम्वासी समस्या झन बल्झिने र नापी भएका जग्गाहरूको लालपुर्जा दिन समेत बफरजोनकै नियमका कारण समस्या भयको छ । यहाँका गिट्टीढुंगा, बालुवा नगरपालिकाले आफ्नै विकास निर्माणमा प्रयोग गर्न निकाल्दासमेत राष्ट्रिय निकुञ्जलाई रोयल्टी दिनुपर्ने तर प्राकृतिक प्रकोपको हानी स्थानीय स्वयंले बेहोर्नुपर्ने दर्दनाक अबस्था हामीले भोग्दै आएका छौँ ।
माडीबाट सामान्य तरकारी निउरो, घरायसी तामा, माछा, आफैँ सुतेको खाट, पलङ, दराजहरू आफ्नै घरमा लैजान समेत नपाईने यो कस्तो विडम्वना हो ? बैज्ञानिक हिसावले यी र यस्ता समस्याको सामाधान निकाल्न कहिँकतैबाट पहल नहुनु र जङ्गलको बाटो निर्माणमा विभिन्न नियमकानुन देखाउँदै लामो समय अनावश्यक अवरोध गर्नुले निकुञ्ज अनि यसैको शाखा बफरजोन प्रति जनता निरास भएका छन् । दैनिक जीवनयापनका नैसर्गिक अधिकारहरूमा समेत वाधा पुर्याउने नियम कसरी बैज्ञानिक हुनसक्छ भन्ने प्रश्न जनताले गरेका छन् । यी र यस्ता अनावश्यक व्यवधानहरूको निरूपण नभएसम्म सम्वन्धित पक्ष (राष्ट्रिय निकुञ्ज र बफरजोन)लाई दवाव दिने उद्देश्यका साथ हामी आउँदै गरेको बफरजोनको कुनै पनि निर्वाचनमा सहभागी नहुने र आम माडीबासीलाई पनि सहभागी नहुन अनुरोध गर्ने निर्णय गरेका छौँ ।
बफरजोनका कारण नगरपालिका र स्थानीय सरकारले पाउने अधिकार समेत खोसिएको नगरपालिका भन्दा बफरजोन हाबी भएको र विभिन्न विकास निर्माणमा बफरजोन बाधक बनेको आम माडीबासीले अनुभव गरेकाले आउँदो बफरजोनको चुनाव हुनुभन्दा अगाडि यी र यस्ता समस्याहरूको सम्बोधन नगरी र जनताले राहत महसुस हुनेगरी उपलब्धि नदेखिएसम्म चुनाव हुन नदिने र जबरजस्त चुनाव गर्न खोजे प्रतिरोध गर्दै चुनावमा उठ्नेलाई समेत सामाजिक बहिष्कार गर्नेसम्मको कार्यक्रम तय गर्नसक्ने सविनय अनुरोध गर्दछौँ ।
समृद्धिका लागि युवा अभियान माडी