भरतपुर, १८ कात्तिक ।
भरतपुर अस्पतालमा निलो रुख स्थापना गरिएको छ । निलो रुखले `मानसिक स्वास्थका बिषयमा चेतना फैलाऔँ र खुलेर चर्चा गरौँ´ भन्ने संकेत गर्दछ । नेपालमै पहिलो निलो रुख भरतपुर अस्पतालको परिसर भित्र स्थापना गरिएको हो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार हाम्रा घर, विद्यालय, समाज र कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्य सम्बन्धि चेतनामूलक कार्यक्रम गर्नु आवश्यक रहेको छ । `हामी आफ्ना कार्यक्षेत्रहरुमा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना जगाऔँ, बहस गरौँ र चासो देखाऔँ´ – पौडेलले भने ।
अष्ट्रेलियामा केन्डाल ह्वाइट र उनको समूहले शुरु गरेको यो अभियान पहिलोपटक नेपाल आईपुगेको छ । कवि ईश्वर कँडेल अस्ट्रेलिया भ्रमणमा रहँदा निलो रुखको अभियान देखेपछि नेपाल फर्केर यसलाई चितवनबाट शुरुआत गरेका हुन् । यो अभियानलाई देशैभर लैजाने उद्देश्य राखिएको कँडेलले बताए ।
एकजना अस्ट्रेलियन जेडेन व्हाइटले २०१८ मा आत्महत्या गरेपछि मानसिक स्वास्थ्यका बारेमा खुला बहस हुनुपर्छ भन्ने मान्यता लिएर सुकेको रुखमा निलो रङ पोतेर यो अभियानको थालनी भएको हो । यसले मानसिक स्वास्थ्यको राम्रो ज्ञान राख्ने, समाजमा यो सम्बन्धि शिक्षा दिने, तालिम दिने कामहरू गर्छ ।