सिनेमा बनाउने सबैभन्दा इमानदार तरिका भनेको तपाईंले साँच्चै महसुस गरेको कुरा बताउने सिनेमा बनाउनु हो । पूर्णबहादुरको सारङ्गी हेरिरहँदा मैले टोनी कायको यो भनाई सम्झिएँ । मैले सम्झिएँ कथा र कहानी खोज्दै हामी कहाँ कहाँ भौँतारिन्छौँ । जबकी अर्गानिक कथाहरु त हामीले बाँचिरहेका वर्तमानहरु हुन् । हामीले अनुभव गरेका विगतहरु हुन् । देखाउन सक्ने भए कथा र क्लाइमेक्स त हाम्रै गाउँ गाउँमा पो रहेछन् ।
सिनेमा त्यो हो जसले तपाईलाई थियटरमा छु भन्ने कुरा भुलाउनु पर्छ । यो सिनेमाको अवधिमा मैले करिब करिब पूरै समय यो बिर्सिएँ कि लक्ष्मीपूजाको दिन बिहान म भरतपुर ओरालोमा रहेको सिजि कम्प्लेक्सको चौथो तलामा बसेर सिनेमा हेरिरहेको छु । म त पूर्णबहादुरसँग कुनै दूर दराजको गाउँमा सारङ्गी बजाईरहेको थिएँ ।
सरल र प्राकृतिक शैलीका सिनेमा हेरिरहँदा कथाको गहिराईसम्म पुग्नु चुनौति जस्तै हो । यसलाई मेकरले राम्रोसँग बुझेका छन् । पछिल्ला समय नेपालमा अर्गानिक कथामा सिनेमा बनाउनेको हुटहुटी नै छ । दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, नाजिर हुसेनलाई हेरिरहँदा हामी सिनेमाको हिरो हेरिरहेको जस्तो लाग्दैन । बरु यस्तो लाग्छ उनीहरु हामीसँगै यतैकतै रहेका हामीमध्येकै कोही हुन् ।
`पूर्णबहादुरको सारङ्गी´ नेपाली सिनेमा जगतमा एउटा यस्तो सशक्त चलचित्र हो, जसले एक साथ परिवार, संस्कृति, र सङ्गीतको मिठासलाई प्रस्तुत गरेको छ । यो चलचित्रले गन्धर्व समुदायको ऐतिहासिक परम्परा र संगीतको सम्पदा साथै बाबुछोराको आत्मीय सम्बन्धलाई यथार्थपरक रूपमा उजागर गर्दछ । निर्देशक सरोज पौडेलले दर्शकलाई एउटा भावनात्मक यात्रामा डोर्याएका छन्, जसले गर्दा सिनेमाले अन्त्यमा गहिरो प्रभाव छोड्छ ।
कथा एक प्रतिभाशाली गन्धर्व समुदायको सदस्य पूर्णबहादुर र उनका छोराबीचको सम्बन्धमा केन्द्रित छ । समाजमा बिस्तारै लोप हुँदै गएको गन्धर्व जातिको जीवनशैली, सारङ्गी संगीतप्रतिको प्रेम र परिवारबीचको माया ममताको गहिराइलाई यस फिल्मले उजागर गरेको छ । पूर्णबहादुरले आफ्नो जिन्दगी सारङ्गीसँग बाँधेर बिताएका छन् र उनले आफ्ना सन्तानलाई पनि यो परम्परा हस्तान्तरण गर्ने चाहना राख्छन् । यसै क्रममा, बाबु-छोराबीचको सम्बन्ध विभिन्न परिस्थितिमा परीक्षामा पर्छ, जहाँ उनीहरूको प्रेम र समर्पणलाई समयले बारम्बार चुनौती दिन्छ । सँगसँगै छोराको भविष्यका लागि बाबुका आँखामा फूल्दै गरेका सपनाका फूलहरुलाई सुवास छर्ने गरी जीवन्त देखाईएको छ ।
फिल्ममा पूर्णबहादुर र उनको छोराको सम्बन्ध भावनात्मक, गहिरो र यथार्थपरक रूपमा प्रस्तुत गरिएको छ । निर्देशकले यो सम्बन्धलाई सुमधुर देखाउन कुनै झिल्के र कृत्रिम संवादको सहारा लिएका छैनन् ।
सानो-सानो कुराहरू, बानीहरु, ध्वनीहरु, स्वरुपहरु, बिम्बहरु र तिनका पारस्परिक संवादमार्फत निकै मिठो ढङ्गबाट चित्रण गरेका छन् । बाबुको गरिबीका बीचमा पनि सन्तानप्रति दर्शाएको स्नेहले तपाईँलाई ओभानो पक्कै राख्ने छैन जुन सिनेमाको प्रमुख शक्ति हो । यथार्थ र आकांक्षाबीचको द्वन्द्वमा सिनेमा सशक्त बनेको छ । विशेष गरी केही संवादविहीन दृश्यहरू, सारङ्गीको धुन मात्र बजेको समय, प्रयोग गरिएका मेटाफोरहरुले सिनेमालाई सुरुदेखि अन्त्यसम्म जोडिरहन्छ ।
सारङ्गी यस सिनेमाको मुख्य पात्र हो । कुनै पात्र मर्लान् नमर्लान् सारङ्गी यस सिनेमा बाँचिरहेको छ । सिनेमाले स्पष्ट भनेको छ सारङ्गी हाम्रो संस्कृति हो सम्पदा हो । यसलाई मर्न दिनु हुँदैन । गन्धर्व समुदायको संस्कृतिको अभिन्न हिस्सा बनेको सारङ्गी र यसको धुन एक मुख्यपात्रकै रूपमा जीवन्त देखाइएको छ । सारङ्गीको मार्मिक धुनहरूले दृश्यहरूमा थप गहिराइ ल्याइदिन्छन् र दर्शकलाई सांस्कृतिक सम्पदासँग नजिक बनाउँछन् । यस चलचित्रमा गन्धर्व संस्कृतिको जीवनशैली, पहिरन, वाद्ययन्त्र र परम्परागत गीत-सङ्गीतलाई बिल्कुल जस्ताको तस्तै प्रस्तुत गरिएको छ, जुन तथ्य विशेष रूपले उल्लेखनीय छ । चलचित्रले नेपाली परम्परागत संगीतप्रति सजीव दृष्टिकोण प्रस्तुत गरेको छ, जसले दर्शकलाई नजिकबाट यसको महत्त्व बुझ्न मद्दत पुर्याउँछ ।
पूर्णबहादुरको भूमिकामा विजय बराल सशक्त छन् । अत्यन्त प्रभावशाली अभिनय गरेका छन् । उनले गन्धर्व समुदायको प्रतिनिधित्व गर्नुका साथै बाबु र सारङ्गीसँगको सम्बन्धलाई भावनात्मक रूपमा उजागर गरेका छन् । मलाई डर थियो के उनले यस सिनेमालाई न्याय दिन सक्लान् (?) तर मेरो डर सिनेमा सुरु भएको केही बेरमै सकियो । किनकी मैले कतै पनि दयाहाङ राईको छेउमा रमाईलो दृष्यमा भूमिका निभाउने विजय बराललाई सिनेमामा भेटिनंँ । मैले पूर्णबहादुर गन्धर्वलाई मात्र हेरिरहेँ । विजयले विजय प्राप्त गरिसकेका छन् । मुकुन भुसाल र बुद्दी तामाङ आफ्नो भूमिकामा अब्बल छन् । प्रकाश सपुतको अभिनयलाई पनि राम्रो नै मान्न सकिन्छ । छोटो नै भूमिका पाए पनि अञ्जना बराईलीले अर्गानिक नायिकाको रुपमा आफूलाई उतारेकी छन् उनको भूमिकाले बिद्रोहको बिगुल फुक्न सिनेमामा मद्धत गरेको छ । सिनेमामा विजय बराललाई सशक्त साथ दिएका छन् उनको छोराको भूमिका निर्वाह गरेका बाल कलाकार स्वयम् केसीले । उनले वाल भूमिकामा बाले गरेको संघर्ष बाको आँखामा आफ्ना लागि भएको स्नेहलाई महसुस हुने गरी चित्रण गरेका छन् । माओत्से गुरुङ्ग, देशभक्त खनाल, भोलाराज सापकोटालगायतको भूमिकाले पनि उनीहरुको कर्तव्यलाई कुशलतापूर्वक निभाएको देखिन्छ । पात्रहरूको अभिनयमा कुनै भव्यता वा नाटकीयता छैन, तर उनीहरूको सरलताले नै चलचित्रलाई जीवन्त बनाउँछ ।
निर्देशकले कथा, पात्र र सन्दर्भलाई यथार्थपूर्ण रूपमा प्रस्तुत गरेका छन् । उनले कथाको बिस्तारलाई स्वाभाविक बनाएका छन्, जसले दर्शकलाई द्रुत गति र सौम्य प्रवाहमा कथा अनुभव गराउन मद्दत पुर्याउँछ । सिनेम्याटोग्राफीले नेपाली गाउँठाउँ र परम्परालाई सजीव बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । विशेष गरी पहाडी गाउँको सुन्दरता र साँस्कृतिक दृश्यहरूको मनमोहक चित्रणले चलचित्रलाई थप जीवन्त बनाएको छ । सङ्गीत सिनेमाको अर्को शक्ति हो । काँधेकुरी रैया, चाँदीको मैझारोलगायतका गीतहरु तिहारको समयमा पनि घर घरमा गुञ्जिरहेका छन् ।
पूर्णबहादुरको सारङ्गी´ ले नेपाली समाजमा लोपोन्मुख गन्धर्व संस्कृतिलाई नजिकबाट देखाउन मात्र होइन, एक विशेष समुदायको परम्परागत र भावनात्मक जीवनलाई पनि दर्शकसम्म पुर्याएको छ । यो सिनेमा जीवनको सामान्य तर महत्वपूर्ण पक्षलाई उजागर गर्ने दृष्टान्त हो । चलचित्रले कुनै हलुका दृश्य वा संवादमा पनि गहिरो अर्थ दिन सफल भएको छ, जसले गर्दा दर्शकलाई गहिरो सन्देश दिन्छ । यो फिल्म एकपटक अवश्य हेर्नैपर्ने श्रेणीमा पर्छ, विशेष गरी सांस्कृतिक महत्वलाई बुझ्न चाहने दर्शकहरूका लागि । त्यो मात्र नभइ बाबु प्रतिको श्रद्धा रिजार्ज गर्न चाहनुहुन्छ भने पनि लेखक तपाईलाई सिनेमा हेर्न अनुरोध गर्न चाहन्छ ।
पूर्णबहादुरको सारङ्गी´ मात्र एउटा कथा नभएर एउटा जीवन्त अनुभव हो । बाबु र छोराको सम्बन्धमा तयार पारिएको नेपाली सिनेमाको गतिलो दस्तावेज हो । यसले गहिरो भावनात्मक सम्बन्ध र संस्कृतिको जगेर्नामा पिताको भूमिका सम्झाउँछ । बाबु-छोराको सम्बन्धमा आधारित कथालाई गहिराइ र मिठासको साथ प्रस्तुत गर्न सक्ने शक्ति यस चलचित्रको प्रमुख विशेषता हो ।
सिनेमा हेर्न यतिकै नजानु होला । एउटा रुमाल सँगै लैजानुहोला । सिनेमा हेरुञ्जेल धित मरुञ्जेल रुनुहोस् । मन हलुका बनाउनुहोस् । आफ्नो पितालाई सम्झनुहोस् । उनको संघर्षलाई बुझ्ने कोसिस गर्नुहोस् । कहीँकतै तपाईलाई पनि यस्तो लाग्न सक्छ ओहो यो त मेरो कथा रहेछ । मेरो बाको कथा रहेछ । मजस्तैको कथा रहेछ । आउनुहोस् सबै मिलेर हाम्रा बाहरुलाई प्रेम गरौँ । श्रद्धा गरौँ ।
पूर्ण बहादुरको सारङ्गी परिवारलाई नमन ।