मकवानपुर, १५ कात्तिक ।
साहित्यकार माधवबहादुर पोख्रेललाई महाकवि लक्ष्मीप्रसाद देवकाटा स्मृति सम्मानबाट सम्मानित गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसरमा पोख्रेललाई बिहीबार हेटौंडामा उक्त सम्मान प्रदान गरिएको हो ।
साहित्य संगम मकवानपुर र युग प्रकाश क्लब नवलपरासीको संयुक्त आयोजनामा विहीबार भएको कार्यक्रममा उनलाई १० हजार नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेकी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ की वडाध्यक्ष जुना दाहालले पोख्रेललाई मालासहित नगद र सम्मान पत्र प्रदान गरेकी थिइन् । नेपाली साहित्यको उन्नयन र श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टालाई हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृति साहित्य सम्मान प्रदान गर्दै आएको साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीवी बर्तौलाले जानकारी दिए ।
यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीकै अवसरमा आयोजिता मकवानपुर जिल्ला स्तरीय कविता प्रतियोगितामा उत्कृष्ट भएका सरोजप्रसाद शाह, कृष्णचन्द्र काफ्ले र कृष्मा लौडारीलाई जनही नगद ३ हजार रुपैयाँ र विप्लव आचार्यलाई नगद १ हजार प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा साहित्यकार शान्तिप्रिय बन्दना, चिरन्जीवि लामिछाने र सानु खनालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
१ सय १६ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको दिन विहीबार हेटौंडा ११ शहीद स्मारकको प्रवेशद्वाराबाट निस्किएको साहित्यकारहरुको र्याली नवलपुरस्थित त्रिभुवन उच्च माविमा पुगेर महाकवि देवकोटाको सालिकमा फूलमाला अर्पण गरिएको थियो । कार्यक्रममा उपस्थित मकवानपुरे साहित्यकारहरूले महाकवि देवकोटाका कविता वाचन गरेका थिए ।