भरतपुर, १५ कात्तिक ।
पश्चिम चितवनस्थित अन्नपूर्णा माध्यमिक विद्यालय पार्वतीपुरले बस यातायात व्यवस्थापन गर्न सुरु गरेको `अन्नपूर्णा यातायात अक्षयकोष´ मा सहयोग जुटेको छ । यसै विद्यालयको भूतपूर्व विद्यार्थी (एसएलसी २०४८) तेजेन्द्र कँडेलले ६० हजार रुपियाँ नगद विद्यालयलाई हस्तान्तरण गर्नु भएको छ । विद्यालय व्यवस्थापन समिति एवम् वडाध्यक्ष समेतको उपस्थितिमा बुधबार विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको तिहार विशेष कार्यक्रममा वहाँले सो रकम हस्तान्तरण गर्नु भएको हो ।
सीतापुर निवासी कँडेल हाल बेल्जियममा बसोबास तथा व्यवसाय गर्दै आउनु भएको छ । वहाँ चितवन सहायता कोष बेल्जियमको उपाध्यक्ष समेत हुनुहुन्छ । चितवन सहायता कोष बेल्जियमका सल्लाहकार राजेन्द्र पौडेलको उपस्थितिमा प्रदान गरिएको यस सहयोग रकम कँडेलको व्यक्तिगत पहलमा चितवन सहायता कोष बेल्जियमबाट उपलब्ध गराइएको हो । आगामी दिनमा कोषमा थप सहयोग गर्ने वचन कँडेलले व्यक्त गर्नु भयो ।
उक्त समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ कँडेलले दाता र वहाँको संस्थालाई धन्यवाद दिँदै भन्नु भयो – `विद्यार्थी संख्या विगत केही वर्षदेखि यस विद्यालयमा बढ्दै गएको तथ्यले धेरै अभिभावकहरु र विद्यार्थीहरुको विद्यालय प्रति चासो र अभिरुचि बढ्दै गएको, अभिभावकहरुको घर दैलोमा जाँदा, नजिकका दुई फीडर विद्यालयहरु आधारभूत विद्यालय शंकरचोक र आधारभूत विद्यालय सीतापुर मर्ज भएको, अधिकांश अभिभावकहरुले यातायातको व्यवस्था गरिदिँदा तल्लो कक्षामा विद्यार्थीहरुलाई अन्नपूर्णामा पठाउन सहज हुने सुझावहरु प्राप्त भएकोले बसको व्यवस्थापन अन्नपूर्णाको लागि अपरिहार्य भएको छ ।´
भरतपुर महानगर वडा नम्बर २१ का वडाध्यक्ष कृष्णकुमार गुरुङले अभिभावकहरुको सुझाव अनुसार विद्यालय व्यवस्थापन समितिले अगाडि बढाएको यस अभियानमा सहयोग गर्न सबै भूतपूर्व विद्यार्थीहरु र शिक्षाप्रेमी महानुभावहरुमा हार्दिक अपिल समेत गर्नु भयो । यस सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरुका अभिभावक तथा परिवार ज्यादै न्यून आर्थिक अवस्थाको भएकोले यो अभियान ल्याउनु परेको कुरा समेत स्पष्ट पार्नु भयो ।
विद्यालयका प्रधानाध्यापक बटुकलाल तमाङले यस महान अभियानमा सुरुवाती सहयोग गरेकोमा भूतपूर्व विद्यार्थी तेजेन्द्र कँडेल र वहाँहरुको संस्था चितवन सहायता कोष बेल्जियमलाई धन्यवाद दिँदै यस अभियानमा सहयोग गर्न थुप्रै भूतपूर्व विद्यार्थीहरु र शिक्षाप्रेमी दाताहरु व्यक्तिगत र समूहगतरुपमा इच्छुक रहेको जानकारी आफूलाई प्राप्त भएको र यस अभियानले छिटै मूर्तरुप लिने विश्वास व्यक्त गर्नु भयो । दाताहरुको नामावली विद्यालयले निकट भविष्यमा प्रकाशन गर्ने मुखपत्र अन्नपूर्णा स्मारिका र शिलालेखमा प्रकाशन गर्ने जानकारी समेत वहाँले दिनु भयो ।