भरतपुर, १४ कात्तिक ।
लायन्स क्लब अफ चितवन चौतारीको आयोजनामा बुधबार भरतपुरमा निःशुल्क आँखा जाँच शिविर गरिएको छ । चितवन आँखा अस्पताल भरतपुरको १३ औं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा प्राविधिक सहयोग चितवन आँखा अस्पतालले उपलब्ध गराएको थियो । सो शिविरमा १३८ जनाको आँखा परिक्षण डा रवीन्द्र सिंह ठकुरीले गर्नुभएको थियो ।
नेपालमा अन्धोपन निवारणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको लायन्सले आँखा परिक्षणलाई उच्च प्राथामिकतामा राखेको छ । विभिन्न स्थानमा आँखा परिक्षण शिविर सञ्चालन गर्ने गरेको क्लबले स्वयं लायन साथीहरुको आँखाको दृष्टि (आँखाको स्वास्थ्य) के कस्तो अवस्थामा छ भनेर थाहा पाउनका लागि भरतपुरमै शिविर आयोजना गरिएकोे कार्यक्रम संयाजक लालप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मेडिकल सिटीको रुपमा चिनिएको चितवनका शहरी क्षेत्रका बासिन्दाहरुमा पनि आँखाको उपचारको सम्बन्धमा गम्भीर नभएको डा रवीन्द्रसिंह ठकुरीको अनुभव छ । विशेषज्ञ चिकित्सकसँग परामर्श नगरी जथाभाबी औषधीको प्रयोग गर्दा आँखाको ज्योति गुम्नसक्ने डा ठकुरीको भनाई छ । डा ठकुरीले भन्नुभयो – `आजको सानो लापरबाहीले भोलि ठूलो क्षति पुग्ने भएकाले आँखा जस्तो संवेदनशील अंगको हेरचाह र उपचारमा बिशेष सावधानी पुर्याउन जरुरी छ ।’ मधुमेह तथा उच्च रक्तचापका बिरामीले त हरेक ६/६ महिनामा आँखा परिक्षण गर्नुपर्ने डा ठकुरीको भनाई छ । स्कुल जाने उमेर भएका बाबुनानीहरुको आँखा परिक्षण एकदमै जरुरी भए पनि अभिभावकहरुले यसतर्फ चासो नदिएको वहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गर्भनर दिनानाथ न्यौपानेले संसारलाई हेर्न, बुझ्न र अनुभव गर्न आँखा जरुरी हुने बताउनु भयो । `आँखा बिना यो सम्भब नहुने भएकोले आँखाकोे नियमित स्वास्थ्य परिक्षण गर्नुपर्छ´, उहाँले भन्नुभयो ।
लायन्स क्लब अफ भरतपुर मिड टाउन, लायन्स क्लब अफ निर्वाणा, लायन्स क्लब अफ चितवन अतुल्य र लायन्स क्लब अफ चितवन चौतारी गार्गीको सहआयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन मनोज हमालले गर्नुभएको थियो ।