मकवानपुर, १४ कात्तिक ।
गत असोज दोस्रो साताकाे अविरल वर्षासँगै आएकाे बाढीपहिरोले बागमती प्रदेशका ४ सय ३५ विद्यालयमा क्षति पुगेकाे तथ्याङ्क छ । क्षति पुगेका अधिकांश विद्यालयमा असोज १२ देखि नै पठनपाठन ठप्प छ ।
प्रदेश शिक्षा विकास निर्देशनालय हेटौंडाका अनुसार बाढीपहिरोले सबैभन्दा बढी काभ्रेमा ११ पालिकाका १ सय ४९ विद्यालयमा क्षति पुगेको छ । यसैगरी धादिङमा ९ पालिकाका ६० विद्यालय भवनमा बाढीपहिरोले क्षति गरेको छ । सिन्धुलीमा ६ पालिकाका ४५ विद्यालय भवन भत्किनुका साथै पहिरोले पुरेको छ । ललितपुरमा ५ पालिकाका ३९, रामेछापमा ८ पालिकाका ३८ र मकवानपुरमा ६ पालिकाका २८ विद्यालयमा क्षति पुगेको छ ।
भक्तपुरमा ४ पालिकाका २३, नुवाकोटमा ६ पालिकाका १०, दोलखामा ५ पालिकाका ८, सिन्धुपाल्चोकमा ६ पालिकाका ८, रसुवामा ३ पालिकाका ६ र चितवनको १ विद्यालयमा बाढीपहिरोले क्षति गरेको निर्देशनालयको तथ्यांक छ । क्षतिग्रस्त विद्यालयको अवस्था अध्ययनका लागि प्राविधिकसहित ५ टोली सम्बन्धित पालिकामा पठाएर कात्तिक मसान्तसम्म प्रतिवेदन तयार गरिने निर्देशनालयले जानकारी दिएकाे छ । निर्देशनालका निर्देशक दीपेन्द्र सुवेदीका अनुसार यथार्थ रिपोर्ट आएपछि मर्मतसम्भार र निर्माण सुरु गरिने छ ।