चितवन, १२ कात्तिक ।
भरतपुरको यज्ञपुरीमा रहेको ग्यालेक्सी गार्डेन रिसोर्टको नेतृत्व एनआरएन अभियन्ता बुद्धिसागर सुवेदीले लिएका छन् । भरतपुर महानगरपालिका- ४ यज्ञपुरीमा रहेको रिसोर्टको छैटौँ साधारणसभा एवं तेस्रो अधिवेशनले सुवेदीलाई अध्यक्ष पदमा चयन गरेको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा करिब साढे दुई दशक लामो व्यावसायिक अनुभव भएका सुवेदीलाई विश्वास गरेर लगानीकर्ताले जिम्मेवारी सुम्पेका हुन् । अमेरिकाका मुख्य सहर र नेपालमा पाँचतारे होटल सञ्चालन गरेका सुवेदीले आफ्नो गृह जिल्ला चितवनमा अझै फरक किसिमको व्यवसाय गर्ने लक्ष्यका साथ जिम्मेवारी लिएका छन् ।
पर्यटनको हब बन्दै गएको चितवनको भरतपुरमा केही फरक योजना सहित आफू लागेको सुवेदीले बताए । सुवेदी भरतपुरको वैदिकनगरमा बसोबास गर्छन् । उनको पुरानो थलो माडी हो । सुवेदी एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष हुन् ।
रिसोर्टको उपाध्यक्षमा पुराना होटल ब्यवसायी इमान्दु बराल चयन भएका छन् भने प्रवन्ध निर्देशकको जिम्मेवारी पुनः युवा ब्यवसायी नवीन कँडेललाई दिइएको छ । त्यस्तै कम्पनी सचिवमा लेखनाथ सापकोटा, इन्द्रराज गैरे र देवनारायण भुषाल रहेका छन् । भुषाल पनि अमेरिकामा लामो समयेदेखि व्यवसाय गर्दै आएका छन् । भरतपुरको चौविसकोठीबाट बाट करिब तीन किलोमिटर पश्चिममा रहेको ग्यालेक्सी रिसोर्टमा चितवनमै सबैभन्दा धेरै जना अट्ने सभाहल रहेको छ । यहाँ एकैपटक तीन हजार जना अट्ने क्षमताको हल रहेको छ । पाँच वटा हलमा एकै साथ कार्यक्रम गर्न मिल्ने सुविधाको बनाइएको प्रवन्ध निर्देशक कँडेलले बताए ।
चितवनमा विभिन्न पेशा व्यवसायमा अनभुव संगालेका ४६ जना व्यवसायीको संलग्नतामा ६० करोडको लागतमा रिसोर्ट निर्माण भएको हो । रिसोर्टमा सुविधा सम्पन्न २५ कोठा रहेका छन् । एकवर्षको अवधिमा अन्तर्राष्ट्रिय सम्मेलनसहित विभिन्न सांगीतिक कार्यक्रम, राजनैतिक दलका सभा सम्मेलन, वैवाहिक उत्सवसमेत भएको रिसोर्टले जनाएको छ ।