मकवानपुर, १२ कात्तिक ।
बागमती प्रदेशमा १ अर्ब ४५ करोड ७८ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको कृषिबाली क्षति भएको छ । असोजको दोस्रो हप्तादेखि परेको अविरल बर्षाका कारण प्रदेशको १३ जिल्लाहरुमा उक्त मूल्यकाे अनुमानित कृषिबाली क्षति भएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका जनाएकाे छ ।
मन्त्रालयका अनुसार उक्त मनसुनजन्य विपतले प्रदेशको ६ हजार ८७७.३ हेक्टर जमिनमा बाढी पहिरोले क्षति पुर्याउँदा सो रकम बराबरको कृषिबालीे क्षति भएको प्रारम्भिक अनुमान छ । मन्त्रालयको तथ्यांक अनुसार मकवानपुरमा कुल ४५ करोड ७७ लाख ६९ हजार रुपैयाँ बराबरको कृषिबाली क्षति भएको छ । मकवानपुरको कैलाश गाउँपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका बाहेक ७ स्थानीय तहमा सो रकम बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हाे । मकवानपुरको ३ हजार २७४ हेक्टर क्षेत्रफलमा लगाइएको अन्नबाली तथा नगदेबालीमा क्षति पुगेको बताइएको छ ।
यस्तै, चितवनमा ४ करोड ८४ लाख ८६ हजार रुपैयाँ बरावरको कृषिबाली क्षति भएको छ । चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा मनसुनजन्य विपद्ले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । जसमा माडी नगरपालिकामा ३३ लाख ६४ हजार र इच्छाकामना गाउँपालिकामा ४ करोड ५१ लाख २२ हजार रुपैयाँ बरावरको कृषि धनमा क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
सिन्धुलीमा कुल ८६७ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबालीमा क्षति पुगेको मन्त्रलालयको प्रारम्भिक अनुमान छ । जसबाट सिन्धुलीका ७ वटा स्थानीय तहमा ९ करोड ८८ लाख ३८ हजार रुपैयाँ मुल्य बराबरको क्षति भएको बताइएको छ । सिन्धुलीमा तरकारी खेती गरिएका १८ वटा टडेलमा बाढी पहिरोले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ ।
यस्तै, काभ्रेमा ४७ करोड ६ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको कृषिबालीमा क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ । काभ्रेको १३ वटा स्थानीय तहको १ हजार २३६.१ हेक्टर क्षेत्रफलमा लगाइएको कृषिबाली क्षति भएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।
रसुवामा ८.३ हेक्टर जमिनमा लगाइएको कृषिबाली क्षति हुँदा १७ लाख २५ हजार रुपैयाँ बरावरको कृषि बालीमा क्षति पुगेको छ भने नुवाकोटमा १९८.४८ हेक्टर जमिनमा लगाइएको कृषिबालीमा बाढी पहिरोको प्रभावले २ करोड २३ लाख ४३ हजार रुपैयाँ बराबरको कृषि धनमा क्षति पुगेको प्रदेशको कृषि मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
यता, ललितपुरमा ५६१.८ हेक्टर जमिनमा लगाइएको कृषिबालीमा क्षति पुग्दा १८ करोड ९६ लाख ५३ हजार रुपैयाँ बरावरको क्षति भएको मन्त्रालयको अनुमान छ भने भक्तपुरमा १६८.५ हेक्टरमा बाढी पहिरोले प्रभावित हुँदा ६ करोड ९९ लाख ८६ हजार रुपैयाँ बरावरको क्षति पुगेको मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
काठमाडौंमा ३ करोड १ लाख ५९ हजार रुपैयाँ बरावरको कृषिबाली क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ भने रामेछापमा २ करोड ३६ लाख ३२ हजार र दोलखामा ७ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको कृषिबाली क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बागमतीमा रहेका १३ जिल्लाहरुमध्ये सिन्धुपाल्चोकमा भने उक्त मनसुनजन्य विपद्ले कुनै कृषि बालीमा क्षति नपुगेको मन्त्रालयले जनाएको छ ।
हाल सार्वजनिक गरिएको यो विवरण प्रारम्भिक विवरण रहेको र स्थानीय तहहरुबाट क्षेती लागत तथ्यांक संकलन कार्य जारी रहेको मन्त्रालयले जनाएकाे छ ।