गैंडाकोट, ११ कात्तिक ।
नेपाल तरुण दल नवलपुरले संगठनको ६४ औँ स्थापना दिवसको अवसर पारेर गैंडाकोटमा रहेको महेन्द्र स्मारक आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालयमा वालविकासदेखि कक्षा ८ सम्म अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई आइतबार एक कार्यक्रम गरी शैक्षिक सामग्री वितरण गरिएको हो ।
सोही अवसरमा तिहार, छठ पर्व र नेपाल सम्वतको शुभकामना आदानप्रदान समेत गरिएको थियो । नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचन प्रमुख अतिथि रहेको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै भट्टचनले कांग्रेसको भातृ संगठनका रूपमा रहेको तरुण दल राजनीतिमा मात्र नभई सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय रहेकोमा आफूलाई खुसी लागेको बताए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य खगराज सापकोटा, गण्डकी प्रदेश क्षेत्र नम्बर १ कका सभापति गोपाल सापकोटा, तरुण दल केन्द्रीय समिति सदस्य मोतीचन्द्र चालिसेलगायतले तरुणको सिद्धान्तमाथि प्रष्टाएका थिए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू वेदप्रसाद गौडेल, प्रकाश सापकोटा, कविराज अर्याल, प्रतिक सापकोटा, नारायण सापकोटा, सोही विद्यालयका प्रधानाध्यापक शिवराज काफ्लेलगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता र विद्यालय व्यवस्थापन समितिको उपस्थिति रहेको थियो ।
शैक्षिक सामग्री वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई तरुण दल जिल्ला सचिव हरेराम सापकोटाले सञ्चालन गरेका थिए ।