मकवानपुर, ११ कात्तिक ।
बागमती प्रदेश प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले ३४ औं प्रतिवेदन बुझाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख उमाकान्त आचार्यलगायतको समूहले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले पारदर्शिताको सबैभन्दा अपरीहार्य सवाल भएकोले यसतर्फ सचेत हुनु पर्ने बताए । आर्थिक तथा अन्य कुनै पनि अख्तियारीमाथिको पारदर्शिताको लागि आयोगले गर्दै आएको काममा आफ्नो पूर्ण साथ रहने प्रमुख देवकोटाले बताए । अख्तियारले बुझाएको प्रतिवेदन अध्ययन गरेर आफूले थप सुझाव प्रदान गर्ने उनले बताए ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा आयोगले अनुसन्धान गर्न वा गराउन तथा अनुसन्धानबाट भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिउपर कानुनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्ने कार्य गर्दै आइरहेको छ ।
आयोगले वर्षभरी गरेको काम कारबाही समेटेर तयार पारिएको आर्थिक वर्ष २०८०÷०८१ को ३४ औं वार्षिक प्रतिवेदनमा बुझाएको हो । जम्मा ६ परिच्छेद र ५२४ पृष्ठ रहेको छ । नेपालको संविधानको धारा २९४ को उपधारा ३ को व्यवस्था बमोजिम प्रदेश प्रमुखज्यूसमक्ष पेस गरिएको हो ।
यस अवधिमा आयोगबाट भ्रष्टाचारसम्बन्धी उजुरीको प्रारम्भिक छानबिन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोप–पत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने गरेको छ ।
आयोगको कार्यालय, हेटौंडाको उजुरी दर्ता र फर्छयौट सम्बन्धी विवरण हेर्दा बागमती प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरुसँग सम्बन्धित १७९, प्रदेशका कार्यालयहरुसँग सम्बन्धित २४५ र स्थानीय तहसँग सम्बन्धित ५२३ गरी कुल ९४७ उजुरी दर्ता भएकोमा ६९९ उजुरी विभिन्न माध्यमबाट फछ्यौट भएका छन् । त्यसै गरी मधेश प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरुसँग सम्बन्धित २६३, प्रदेशका कार्यालयहरुसँग सम्बन्धित १८२ र स्थानीय तहसँग सम्बन्धित १७६१ गरी कुल २२०६ उजुरी दर्ता भएकोमा १५४३ उजुरी विभिन्न माध्यमबाट फछ्यौट भएका छन् ।