भरतपुर, ११ कात्तिक ।
सडक दुर्घटना नेपालका लागि मात्र नभई आधुनिक विश्वका लागि नै एउटा विकराल समस्या बनेको छ । मानिस जातिको सहजताका निम्ति बनाइएका सडक र सवारी साधनले मानवीय त्रुटी, लापरवाही तथा अन्य कारणवश मानिसकै ज्यान लिने क्रम बढिरहेको छ । यसरी सडक दुर्घटनाकै कारण व्यक्ति, परिवार, समाज र देशलाई विभिन्न प्रकारको भार थपिँदै गएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सन् २०२१ मा मात्रै संसारभरि ११ लाख ९० हजार जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाए । उक्त संख्या सन् २०१० मा संसारभरि दुर्घटनाबाट ज्यान गुमाएकाको कूल संख्या भन्दा करिब ५ प्रतिशतले कम हो । यस्तै सन् २०१० मा विश्वको प्रति १ लाख जनसंख्यामा १८ जनाले सडक दुर्घटनाका कारण गुमाउने गरेकामा उक्त दर २०२१ मा घटेर १५ मृत्यु प्रति एक लाख जनसंख्या पुगेको डब्लुएचओले जनाएको छ ।
सडक दुर्घटनाको विश्वव्यापी तथ्याङ्कमा केही सुधार देखिए पनि यसले विकास र स्वास्थ्यको क्षेत्रमा निम्त्याउने चुनौती भने कम भएको छैन । सडक दुर्घटनाको सिकार प्रायः युवा वर्ग र काम गर्न सक्ने जनसंख्याको समूह (सक्रिय जनसंख्या) का मानिसहरू हुने गरेका छन् । डब्लुएचओले प्रकाशन गरेको ग्लोबल स्टेटस रिपोर्ट अन रोड सेफ्टी २०२३ का अनुसार विश्वभरि ५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युपछाडिको प्रमुख कारण सडक दुर्घटना हुने गरेको छ । विश्वभर सडक दुर्घटनामा मृत्यु हुनेमध्ये दुई तिहाइ कामकाजी उमेरका व्यक्तिहरू हुने गरेका छन् । यसले समाजमा ठूलो स्वास्थ्य, सामाजिक र आर्थिक हानि पुर्याइरहेको छ ।
युरोप तथा अमेरिकाका कतिपय विकसित मुलुकहरूले सडक दुर्घटना र त्यसबाट हुने मृत्युको संख्या कम गर्न सकेको भएपनि अफ्रिकी तथा दक्षिण एसियाली देशका नागरिकहरू भने सडक दुर्घटनाको ठूलो चपेटामा परिरहेका छन् । डब्लुएचओका अनुसार सडक दुर्घटनाको ग्राफ न्यून र मध्यम आय भएका मुलुकमा बढी हुने गरेको छ । उसका अनुसार विश्वभर सडक दुर्घटनाका कारण ज्यान गुमाउने हरेक १० जनामध्ये ९ जना न्यून र मध्यम आय भएका मुलुकका हुने गरेका छन् ।
सडक दुर्घटनाबाट हुने विश्वव्यापी मृत्युको करिब २८ प्रतिशत हिस्सा दक्षिण र पूर्वी एशियाले ओगटेको छ । यस क्षेत्रमा रहेका देशहरूमध्ये सबैभन्दा बढी मृत्यु दर नेपालको रहेको छ । सन् २०२१ को तथ्याङ्कअनुसार यहाँ प्रति १ लाख जनसंख्यामा २८.२ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । यस क्षेत्रका थाइल्याण्ड (२५.४ मृत्यु प्रति एक लाख) भारत (१५.४ मृत्यु प्रति एक लाख), म्यानमार (१९.३ मृत्यु प्रति एक लाख) र बंगलादेशमा (१८.६ मृत्यु प्रति एक लाख) पनि सडक दुर्घटना भयानक समस्या बनेको छ ।
नेपालमा सडक दुर्घटनाका मृतकहरूको छैन यकिन तथ्याङ्क
नेपाल प्रहरी तथा सरकारी स्तरबाट प्रकाशन हुने तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा सन् २०१४ यता हरेक वर्ष कम्तीमा दुई हजार जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेका छन् । यद्यपि विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले भने यहाँको अवस्थालाई अझै पनि दर्दनाहक देखाउँछ । विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई हेर्ने हो भने सन् २०२१ मा मात्रै नेपालभर ८ हजार ४ सय ९७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको देखिन्छ ।
तर नेपाल प्रहरीको तथ्याङ्कले भने उक्त अवधिमा जम्मा २ हजार ८ सय ८३ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको देखाउँछ । सरकारी आँकडालाई हेर्ने हो भने देशको प्रति एक लाख जनसंख्यामा करिब ९ जनाले सडक दुर्घटनाका कारण ज्यान गुमाउँछन् । उता विश्व स्वास्थ्य संगठनको आँकडाले भने प्रति एक लाख जनसंख्यामा २८ जनाले दुर्घटनाका कारण मृत्यु वरण गर्ने गरेको देखाउँछ ।
सडक सुरक्षा विज्ञ आशिष गजुरेल नेपालमा हुने कतिपय सडक दुर्घटना प्रहरीमा रिपोर्ट नै नहुने गरेको बताउँछन् । “मानिसहरू घाइतेलाई उद्धार गर्दा आफू फसिन्छ कि भनेर डराउँछन् । चेतनाको कमीसँगै प्रक्रियागत झमेलामा पर्ने डरले पनि मान्छेले दुर्घटना रिपार्ट नगराएको हुन सक्छ”, उनी बताउँछन् । उनका अनुसार नेपालमा दुर्घटना भएको स्थानमै ज्यान गुमाएका व्यक्तिहरूलाई मात्र सडक दुर्घटनाका मृतकको रूपमा गणना गरिन्छ। तर, विश्व स्वास्थ्य संगठनले भने दुर्घटनामा घाइते भई ३० दिनभित्र ज्यान गुमाउने व्यक्तिलाई पनि आफ्नो तथ्याङ्कमा समेट्ने गर्दछ।
नेपालमा सडक दुर्घटना हुनुमा चालकको लापरवाही, क्षमता भन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र चालकले मदिरा तथा लागुऔषध सेवन गर्नु प्रमुख कारण देखिन्छन् । यसैगरी, मोटरसाइकल प्रयोगकर्ताले हेल्मेटको प्रयोग नगर्नु, कारमा सीटबेल्ट र बाल सुरक्षा सीटको प्रयोग नहुनु, तथा स्पीड लिमिटको पालना नगर्दा पनि दुर्घटना हुने जोखिम रहन्छ । सवारी साधनको समयमा जाँच नगर्दा पनि दुर्घटना हुन सक्छ। सडकको भौतिक पूर्वाधारको अवस्था उचित नहुनु र मानवीय त्रुटि नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारणका रूपमा रहेका छन् ।
सडक दुर्घटनाको डरलाग्दो तथ्याङ्क
मृतकको संख्याका आधारमा हेर्ने हो भने वि.सं. २०५२ देखि वि.सं. २०६२ सम्म चलेको माओवादी सशस्त्र युद्ध र २०७२ को विनाशकारी भूकम्पमा मृत्यु भएका मानिसहरूको तुलनामा हालसम्म सडक दुर्घटनाले बढी ज्यान लिइसकेको छ । माओवादी युद्धमा देशभर १७ हजार बढीले ज्यान गुमाउँदा ७२ को भूकम्पले करिब ९ हजारको ज्यान लिएको थियो । जबकी सडक दुर्घटनाले पछिल्लो एक दशकमा (आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ सम्ममा) मात्रै २४ हजार ९५ जनाको ज्यान गइसकेको छ ।
नेपालमा सन् २००८ अघिका हरेक वर्षहरूमा मृतकको संख्या एक हजार भन्दा कम हुने गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०६४/६५ सम्म नेपालभर जम्मा ७ लाख १० हजार ९ सय १४ सवारी साधन दर्ता भएका थिए । उक्त संख्या बढेर आर्थिक वर्ष २०७४/७५ मा ३२ लाख २१ हजार ४२ पुगेको छ । हाल देशभर ५० लाख भन्दा बढी सवारी साधन गुडिरहेका छन् ।
विगतका दशकहरूको तुलनामा सडकको लम्बाइ पनि बढेको छ । देशभर सडकको संख्या ६० हजार किलोमिटर भन्दा बढी छ । जसमध्ये १४ हजार ९ सय ५३ किमि सडक राष्ट्रिय राजमार्ग वा रणनैतिक राजमार्ग अन्तर्गत पर्दछन् । यी सडकलाई सडक विभागले हेर्दै आएको छ । सडक विभाग मातहतका सडकले ट्राफिक मापदण्ड पूरा गर्ने भएपनि राजमार्गलाई भित्री बस्तीसँग जोड्ने शाखा सडकमा भने कुनै पनि मापदण्ड पालना गरेको पाइँदैन । जथाभावी शाखा सडक खनेकै कारण नारायणघाट मुग्लिङ्ग सडक खण्डमा वर्षेनि पहिरो खस्ने जोखिम बढेको छ ।
सडक दुर्घटना र चोटका किसिम
सडक दुर्घटनामा घाइते हुनेहरूलाई टाउको, अनुहार, छाती, हात–खुट्टा, कम्मर, मेरुदण्ड र हाडजोर्र्नीमा चोट लाग्ने जोखिम हुन्छ । त्यसका साथै, आँखा र अन्य भित्री अंगहरूमा पनि असर पुग्न सक्ने सम्भावना रहन्छ । चितवन मेडिकल कलेजका हाडजोर्र्नी तथा नशा रोग विशेषज्ञ डा. देवेन्द्र आचार्यका अनुसार दुर्घटनामा लाग्ने केही चोट सामान्य हुन्छन् भने केही चोट निकै जटिल हुन सक्छन् । “दुर्घटनामा घाइते कुन वस्तुसँग कसरी ठोक्किन पुग्यो भन्ने कुराले उसलाई कस्तो प्रकारको चोट लागेको छ भन्ने निर्धारण गर्छ”, डा. आचार्य बताउँछन् ।
नेपालमा सवारी चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु ओसार्ने प्रचलन, यात्रुको असावधानी लगायतका कारणले दुर्घटनाको जोखिम बढाएको देखिन्छ । हेलमेट र सिट बेल्टको प्रयोग गर्न अटेरी गर्नाले पनि गम्भीर प्रकारका दुर्घटना निम्त्याउने गरेको छ । हेलमेट र सिट बेल्टको समुचित प्रयोग गरे मात्रै अमूल्य ज्यान जोगाउन सकिने ट्राफिक प्रहरी तथा चिकित्सकहरू बताउँछन् ।
घाइतेहरूलाई अस्पताल लैजाँदा प्राथमिकता निर्धारण (ट्रायज सिस्टम) को आधारमा उद्धार गर्न जरुरी हुने डा. आचार्य बताउँछन् । ट्रायज सिस्टम अन्तर्गत घाइतेहरूलाई चार प्रकारमा वर्गीकरण गरिन्छ । सबैभन्दा अत्यावश्यक वर्गमा रातो (इमिडिएट) पर्दछ । यस वर्गमा गम्भीर चोट लागेका तर तुरुन्त उपचार गरेमा बाँच्ने सम्भावना उच्च भएकाहरूलाई पहिला उद्धार गरिन्छ । पहेँलो (डिलेइड) मा गम्भीर तर तत्काल ज्यान जोखिममा नरहेका घाइते पर्दछन् । हरियो (वाकिङ उन्डेड) मा सामान्य चोट लागेका घाइते पर्दछन् । चौथो कालो रंगले भने मृत्यु भइसकेको वा बाँच्न नसक्ने घाइते भन्ने जनाउँछ । “नेपालका सबै ठाउँमा टर्सियरी रिफरल अस्पताल छैनन् । ससाना अस्पतालले समयमै प्राथमिक उपचार प्रदान गर्न सक्ने हो भने पनि जटिल घाइतेको पनि ज्यान जोगाउन सकिन्छ,” डा. आचार्यले बताए ।
सडक दुर्घटना पीडितहरूको लागि आपतकालीन सेवा र ट्रमा उपचार सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम गरिरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । दुर्घटना पीडितहरूको उपचारमा कुनै पनि शुल्कको शर्त नराखी यथाशीघ्र उपचार उपलब्ध गराएर मृत्युबाट बचाउन स्वास्थ्य संस्थाहरूलाई तत्पर रहन मन्त्रालयले निर्देशन दिने गरेको डा. बुढाथोकी बताउँछन् । “जटिल केसहरूको उपचारका लागि ठूला अस्पतालहरूमा रिफरल प्रणालीको व्यवस्था पनि गरिएको छ जसले पीडितहरूलाई उच्चस्तरीय उपचारको पहुँच सुनिश्चित गर्दछ,” उनले सुनाए ।
स्वास्थ्य मन्त्रालयका अनुसार सडक दुर्घटना अस्पतालमा नसर्ने रोगका बिरामीको आवागमनको प्रमुख कारणमध्ये एक हो । मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा देशभर सडक दुर्घटनाका नयाँ ४७ हजार ३ सय ३६ जना बिरामी र ११ हजार २ सय ३३ जना पुराना बिरामी अस्पताल पुगेका थिए । यसमा मुख्य रूपमा सडक दुर्घटनाका कारण घाइते भएकाहरूको संख्या उच्च रहेको छ।
नेपालमा दुर्घटनाले थप्ने भार कति ?
हेटौंडा निवासी डा. वर्षा धिताल २०७७ असार १५ गते सपरिवार बोलेरो दुर्घटनामा परिन् । काठमाडौँबाट घर फर्कने क्रममा रहेको धिताल परिवार चढेको बोलेरो नारायणघाट–मुग्लिङ सडक खण्डको सत्रकिलोमा ग्यास बुलेटसँग ठोक्किएको थियो । दुर्घटनामा वर्षाले आमा र भाइ गुमाइन् । वर्षा, उनका बुबा कृष्ण धिताल र अर्का एक चालक घाइते भए । महिनौँको अस्पताल बसाइपछि स्वास्थ्यलाभ गरेकी डा. वर्षा धिताल सडक दुर्घटनाले परिवार र देशलाई गहिरो असर पुर्याउने बताउँछिन् । उनी भन्छिन्, “कुनै पनि नागरिकको उत्पादनशील जीवनमा क्षति हुनु भनेको देशको अर्थतन्त्रमा ठूलो धक्का पुग्नु हो । सडक दुर्घटनाले मानव संसाधनमा एकदमै ठूलो क्षति पुर्याइरहेको हुन्छ ।”
दुर्घटनाले मृतकका परिवार तथा प्रियजनमा विभिन्न खालका भावनात्मक र मानसिक असर गर्ने अनुभव उनी सुनाउँछिन् । “प्रियजनको मृत्युले असह्य पीडा दिन्छ जसले मानसिक तनाव, चिन्ता र डिप्रेसनसम्मको अवस्था पनि ल्याउन सक्छ,” उनी थप्छिन्, “सडक दुर्घटनाले आर्थिक भार पनि थोपरेको हुन्छ । घाइते भएका सदस्यको उपचार र हेरचाहमा लाग्ने खर्चले परिवारमा अतिरिक्त भार बढाउँछ । सडक दुर्घटनाले निम्त्याउने पीडा र यसले खडा गर्ने चुनौती कस्तो हुन्छ भन्ने कुरा मैले आफैँले अनुभव गरेकी छु ।”
विश्व स्वस्थ्य संगठनका अनुसार यदि सन् २०२१ को विश्वव्यापी तथ्यांकलाई आधार मान्ने हो भने सडक दुर्घटनाले मुलुकहरूको कूल गार्हस्थ उत्पादनमा ३ प्रतिशतको गिरावट ल्याउने गरेको छ । विश्व बैंकको अर्काे अनुसन्धानले सडक दुर्घटनाको हालको संख्या ५० प्रतिशतले मात्रै कम गरेर राख्न सके आउँदो २४ वर्षभित्र देशहरूको कूल गार्हस्थ उत्पादन ७ देखि २२ प्रतिशतले बढ्न सक्ने प्रक्षेपण गरेको छ ।
अमृत बाँस्तोला, जेसी किगोजी, पेल्हाम बार्टन र जुली माइटनद्वारा सन् २०२० मा संयुक्त रूपमा प्रकाशित एउटा रिसर्च पेपरले नेपालमा सडक दुर्घटनाले निम्त्याउने आर्थिक भार १२२.८८ मिलियन अमेरिकी डलर हुने देखाएको थियो । उनीहरूले सन् २०१७ को सडक दुर्घटनाको तथ्यांकलाई लिएर अनुसन्धान गरेका थिए । नेपाल प्रहरीका अनुसार सन् २०१७ (आर्थिक वर्ष वि.सं. २०७३/७४) मा नेपालभर २ हजार ३ सय ८४ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए जुन त्यसबेलाको कूल जनसंख्याको ८.६ प्रति एक लाख जनसंख्या हुन्छ । तर विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले सन् २०१७ मा ज्यान गुमाउने नेपालीको दर १५.९ प्रति एक लाख जनसंख्या भएको देखाएको थियो । बाँस्तोला सम्मिलित अनुसन्धान दलले विश्व स्वास्थ्य संगठनको तथ्याङ्कलाई आधार मान्ने हो भने आर्थिक भार अझै बढी हुन सक्ने कुरा पनि उल्लेख गरेको छ ।
बाँस्तोला लगायत अनुसन्धानकर्ताले कूल आर्थिक भारलाई विभिन्न भागमा विभाजन गरेका थिए । जस अन्तर्गत औषधोपचारजन्य आर्थिक भारमा १.५ मिलियन अमेरिकी डलर उल्लेख गरिएको थियो । अनुसन्धानकर्ताको दलले सन् २०१७ भरि गम्भीर घाइते भएका ४ हजार २ सय ५० जना, सामान्य घाइते भएका ८ हजार २ सय ९० जना र क्षति पुगेका ७ हजार ७ सय ८ वटा सवारीसाधनको आधारमा आर्थिक भारको हिसाब गरेका थिए । उक्त वर्ष गैरउपचारजन्य भारतर्फ ११.५ मिलियन अमेरिकी डलर थपिएको अनुसन्धानमा उल्लेख छ । उत्पादकत्वमा आएको ह्रासले ९१.५७ मिलियन अमेरिकी डलर र दुखाइ, पीडा एवं शोकले १८.३१ मिलियन अमेरिकी डलर भार थपिदिएको देखिन्छ ।
नेपालमा वार्षिक रूपमा सडक दुर्घटनामा ज्यान गुमाउनेमध्ये ३६.९ प्रतिशत १८ देखि २९ उमेर समूहका हुन् भने त्यसपछि २४.६ प्रतिशत ३० देखि ४४ उमेर समूहका हुन् । यो उमेर समूहको महत्त्व अर्थ उपार्जनमा मात्र नभई सन्तान वृद्धिमा पनि छ । तर प्रजनन रूपमा सक्रिय रहनुपर्ने उमेरका नागरिकले सडक दुर्घटनामा ज्यान गुमाउँदा देशको जनसांख्यिकीय वितरणमा पनि प्रभाव पर्ने देखिन्छ । रोजगार, शिक्षा र राम्रो अवसरको खोजीमा हरेक वर्ष हजारौँ नेपाली युवा विदेश पलायन भइरहँदा नेपालमै रहेका अन्य हजारौँ युवा सडक दुर्घटनामा मारिनुपर्ने अवस्थाले देशमा दक्ष जनशक्तिको अभाव देखिने जोखिम पनि बढाएको छ । अर्काेतर्फ सडक दुर्घटनामा वार्षिक मृत्यु हुनेमध्ये करिब ८२ प्रतिशत पुरुष हुनुले देशमा महिला र पुरुषको अनुपातमा हलचल हुने पनि देखाउँछ । पुरुषहरूको संख्या घट्दा विवाह दरमा कमी आउन सक्छ । जसले जन्मदरमा पनि असर गर्छ र अन्ततः जनसंख्या वृद्धि दर सुस्त हुन सक्छ ।
सडक दुर्घटनाले व्यक्ति, परिवार, समाज र देशलाई आर्थिक भार थप्ने काम गर्दछ । काम गर्ने उमेर समूहका नागरिकको मृत्युले देशलाई सबैभन्दा पहिले दक्ष जनशक्तिको संख्यामा कमी ल्याउँछ । लामो समय अस्पतालमा भर्ना हुँदा वा अन्य व्यक्तिको निगरानीमा बस्नुपर्दा त्यसले उपचार खर्च बढाउँछ । त्यस्तै दुर्घटनापछि कतिपय मानिस आफ्नो पूर्ववत् अवस्थामा फर्कन नसक्ने गरी अंगभंग बन्दछन् जसले व्यक्तिको उत्पादकत्वमा पनि ह्रास ल्याउँछ । दुर्घटनाका क्रममा सवारीसाधन र अन्य भौतिक संरचनामा समेत क्षति पुग्ने हुँदा आर्थिक भार अझै बढ्न पुग्दछ ।
“घाइतले माग गरेमा उपचारमा लागि सरकारका तर्फबाट सहुलियत र बिमा पनि प्राप्त हुन्छ । कतिपयको उपचार यातायात व्यवसायीले हेरिराखेको पनि देख्छौं”, डा. आचार्य अगाडि भन्छन्, “यदि घाइते व्यक्तिमाथि उसको पूरै परिवार आश्रित रहेछ भने परिवारमा दूरगामी असर अवश्य पर्छ ।”
सडक सुरक्षाका खम्बा दरिलो बनाउन आवश्यक
सडक दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न बनाइएको प्रणालीलाई सडक सुरक्षा भनिन्छ । सडक दुर्घटनाको क्षति कम गर्नका लागि विभिन्न ५ कुरामा जोड दिइन्छ । तिनलाई सडक सुरक्षाका पाँच खम्बा भनेर चिनिन्छ ।
नेपाल इन्टरमोडल यातायात विकास बोर्डका कार्यकारी निर्देशक समेत रहेका गजुरेलका अनुसार ती पाँच खम्बाहरू सडक सुरक्षा व्यवस्थापन, सुरक्षित सडक, सुरक्षित सवारी साधन, अनुशासित सडक प्रयोगकर्ता र दुर्घटनापछिको प्रभावकारी उद्धार कार्य हुन् ।
नेपालको हकमा पाँच मध्ये कुनै एउटा खम्बा पनि बलियो नभएको गजुरेल जिकिर गर्दछन् । “नेपालका सबै सडक सुरक्षित तरिकाले बनेका छैनन् । सडक प्रयोगकर्तामा अनुशासन छैन । सडक जसरी पनि प्रयोग गर्न पाइन्छ भन्ने छ”, उनी अगाडि थप्छन्, “कतिपय सडकमा ट्राफिक चिह्नहरू नै देखिँदैनन् । दुर्घटनापछिको उद्धार कार्य त झनै टिठलाग्दो छ ।” सवारी चालकहरूमा सवारी साधनको नियमित परीक्षण गराउनुपर्छ भन्ने ज्ञान पनि कम रहेको उनी सुनाउँछन् ।
“यात्रुलाई कसरी सुरक्षित गन्तव्यसम्म पु¥याउन सकिन्छ भन्नेमा चालकले ध्यान दिनुपर्छ । समयमा सवारीसाधनको परीक्षण गर्नेदेखि लेन अनुशासनले पनि दुर्घटना कम गर्न सकिन्छ”, उनले सुनाए ।
विश्व स्वास्थ्य संगठनले सडक दुर्घटना र त्यसबाट हुने मृत्यु कम गर्नका लागि सन् २०२१ देखि २०३० को दशकलाई सडक सुरक्षाको दशक भनेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । उसैले निर्माण गरेको दिगो विकासको लक्ष्यमा पनि सडक दुर्घटना न्यूनीकरणलाई स्थान दिइएको छ । संयुक्त राष्ट्रसंघकै पक्षराष्ट्र भएका कारण नेपालले पनि उक्त दशकका लागि सडक सुरक्षा कार्य योजना बनाएको छ । तर यो कागजमा मात्र सीमित भएको गजुरेल बताउँछन् ।
“एक्सन प्लान बनाउनका लागि मात्र बनाएको जस्तो देखिन्छ । त्यो दातृ निकायले दिएको खर्चबाट बनेको छ । कार्यान्वयन पक्ष फितलो छ” उनी भन्छन् ।
यता ट्राफिक प्रहरी अधिकारीहरू पनि सडक प्रयोगकर्ताले अनुशासन र जिम्मेवारी वहन गर्नुपर्ने बताउँछन् । “प्रहरीका पनि गल्ती हुन्छन् तर सबैभन्दा सुरुमा सडक प्रयोगकर्ताले गैरजिम्मेवार हुन छाड्नुपर्छ ।” काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रहरी नायब उपरीक्षक रविन कार्की बताउँछन् । रातो बत्ती र ट्राफिक चेकिङ छल्न खोज्ने जस्ता आनीबानी कम गर्न पनि उनी सवारी चालकलाई सुझाउँछन् ।