देवचुली, ९ कात्तिक ।
देवचुली नगरपालिकामा प्रथम नवलपुर जिल्लास्तरीय रेफ्री सेमिनार सुरु भएको छ । देवचुली नगरपालिकाको सहयोगमा नेपाल कराँते महासंघ देवचुलीको आयोजनामा तथा नेपाल कराँते महासंघ नवलपुरको सहकार्यमा शुक्रबार र शनिबार भीमसेन आदर्श माध्यमिक विद्यालयमा सेमिनार सुरु गरिएको हो ।
जिल्लामा कराँतेका रेफ्रीहरु उत्पादन गर्ने गरि सेमिनारको आयोजना गरिएको नेपाल कराँते महासंघ देवचुलीका अध्यक्ष भुपराज पाठकले जानकारी दिए । दुई दिनसम्म कराँतेको बारेमा प्रशिक्षण दिईने र सहभागीलाई परीक्षा लिई रेफ्रीको प्रमाणपत्र वितरण गर्ने गरी कार्यक्रम तय गरिएको पाठकले बताए ।
नेपाल कराँते महासंघ देवचुलीका अध्यक्ष पाठकको अध्यक्षतामा भएको सेमिनार उद्घाटन सत्रमा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्माको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी देवचुली- ७ का वडा अध्यक्ष भूमिसरा आले, देवचुली- ९ का वडा अध्यक्ष बलिराम सापकोटा, नेपाल कराँते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापा, जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठ, भीमसेन आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूमिलाल लामिछाने, प्रधानाध्यापक अग्निधर भुसाल, देवचुली नगर युवा तथा खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष अमरबहादुर घर्तीमगर, नेपाल कराँते महासंघका प्रदेश, जिल्ला र नगरका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम उद्घाटनमा बोल्दै प्रमुख अतिथि मुकुन्द शर्माले देवचुली नगरपालिकाले खेलकुद कार्यक्रमसँगै खेलका प्रशिक्षण उत्पादन गर्ने कार्यक्रमलाई प्राथमिकता दिएको बताए । नगरले सबै खेलको प्रवर्द्धन र खेलाडी उत्पादनका लागि नगर खेलकुद विकास समितिमार्फत काम अगाडि बढाइरहेको उनले बताए । दुईदिनसम्म सञ्चालन हुने सेमिनारबाट दक्ष रेफ्रीको उत्पादन गरी प्रशिक्षण प्रदान गर्नका लागि आयोजकलाई निर्देशन समेत दिए ।
दुइ दिनसम्म नेपाल कराँते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापा, धन लामा, सुरेन्द्र गुरुङ र विष्णुलाल श्रेष्ठले रेफ्रीको आवश्यकता र भूमिका, रेफ्री गर्दा प्रयोग हुने शब्दावलीको व्याख्या, रेफ्रीको प्राविधिक विषयमा जानकारी, रेफ्रीमा हुनुपर्ने गुणको व्याख्या, मेनुअल पोजिसनहरुको अभ्यास, रेफ्री अभ्यासलगायतका विषयमा सहजीकरण गरिने आयोजकले जनाएको छ । उद्घाटन सत्रको सहजीकरण आस्था अधिकारीले गरेकी थिइन् ।