मकवानपुर, ७ कात्तिक ।
बागमती प्रदेश मुख्यमन्त्री बहादुरसिंह लामाले नीति तथा योजना आयोगका अध्यक्ष गंगादत्त नेपालसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार प्रदेश नीति तथा योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश २०७५ बमोजिम उपाध्यक्ष नेपालसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् ।
मुख्यमन्त्री लामाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रमहरुको कार्य सम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउन आयोगका उपाध्यक्ष नेपालसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सम्झौता अनुसार आयोगले वार्षिक स्वकीकृत कार्यक्रम सहित प्रभावकारी र उपलब्धीमुलक नयाँ तथा फरकशैलीको कार्यक्रम पनि गर्न निर्देशन गरिएको छ । मुख्यमन्त्री लामाले २६ भदौ २०८१ काे मन्त्रिपरिषद बैठकबाट नेपाललाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका थिए ।
यसैबीच उपाध्यक्ष गंगादत्त नेपालसँग कार्यसम्पादन करार सम्झौता गर्दै मुख्मयन्त्री लामाले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउने बताए । उनले प्रदेशमा आयोजना बैंक स्थापना गरेर प्रभावकारी कार्यान्वयनकाे लागि बजेट विनियोजन गर्ने तयारी भइरहेको जानकारी दिए । आयोजना बैंक स्थापना तथा संचालनलाई प्रभावकारी बनाउन उनले निर्देशन समेत दिए ।
मुख्यमन्त्री लामाले वार्षिक स्वीकृत कार्यक्रमका अलावा प्रदेश सरकारलाई आवश्यक तथ्यांक संकलन तथा सुझावहरु उपलब्ध गराएर नीति आयोगले प्रदेशको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । नयाँ र फरक ढंगका उत्पादन र रोजगारीमा केन्द्रीत हुने गरी आयोगले योजना निर्माण तथा बजेट विनियोजनमा सघाउन उनले आग्रह गरे ।
उनका अनुसार प्रदेश सरकार सिस्टम बनाउन सक्रिय रहेकाेले सरकारले तयार पारेको सिस्टम अनुसार नीति आयोगले नियमित काम गर्ने र प्रभावकारी योजना निर्माणमा अग्रसर हुनेछ ।