काठमाडौं, ७ कात्तिक ।
खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान चितवनले पद्मश्री गौरव पुरस्कार- २०८० केदारभक्त माथेमा, पद्मश्री साधना सम्मान- २०८० पवनकुमार चाम्लिङ र पद्मश्री साहित्य पुरस्कार- २०८० `अद्वैत´ उपन्यासका लागि कृष्ण गौतमलाई प्रदान गरेको छ ।
मङ्गलबार काठमाडौंस्थित होटल अकामामा आयोजित पुरस्कार अर्पण समारोहमा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कार अर्पण गरेका हुन् ।
पद्मश्री साहित्य पुरस्कारबाट सम्मानित प्रखर समालोचक एवम् लेखक कृष्ण गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन् । उनका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । वर्षभरिमा प्रकाशित १ सय ८७ पुस्तकमध्ये अद्वैत उपन्यासलाई सर्वोत्कृष्ठ ठहर गर्दै प्रतिष्ठानले मंगलबार काठमाडौं आयोजित कार्यक्रममा लेखक गौतमलाई पुरस्कृत गरेको हो ।
गौतमको उपन्यास ‘अद्वैत’लाई यसअघि ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार, २०८०’ प्रदान गरिने समाचार सार्वजनिक भैसकेको छ । चितवनको कविडाँडा साहित्य समाजले एक लाख २५ हजार नगद र कदरपत्रसहित कात्तिक २४ गते पुरस्कार प्रदान गर्दैछ ।
यस्तै पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई अर्पण गरिएको छ ।
यसैगरी पद्मश्री साधना सम्मान साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चाम्लिङलाई प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । चामलिङ भारतको सिक्किम राज्यका पूर्वमुख्यमन्त्री हुन् ।
प्रतिष्ठान अध्यक्ष जीवा लामिछानेले पुरस्कृत गौतम, चाम्लिङ र माथेमालाई जनही ३ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गरे । कार्यक्रममा अध्यक्ष लामिछानेले समाज र राष्ट्रको विकासका लागि साहित्यको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा पुरस्कृत साहित्यकार तथा अभियन्ताहरुले मुलुकको राजनीतिलाई सही मार्गमा लैजान साहित्य सिर्जनामार्फत दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए । प्रतिष्ठानले २०६३ सालदेखि हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार, २०६७ सालबाट पद्मश्री साधना सम्मान र २०७८ देखि पद्मश्री गौरव पुरस्कार प्रदान गर्दै आएको छ ।