मकवानपुर, २ कात्तिक ।
बागमती प्रदेश लोकसेवा आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष शुक्रवार राजीनामा बुझाएका हुन् ।
प्रदेश सरकारले आफूभन्दा कनिष्ठलाई अध्यक्ष बनाउने तयारी गरेको भन्दै ढकालले राजिनामा दिएका हुन् ।
११ कात्तिकबाट लागू हुने गरी राजीनामा बुझाएका ढकालले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ६ (क)अनुसार राजीनामा बुझाएका हुन् । प्रदेश सरकारले सहसचिव स्तरको व्यक्तिलाई प्रदेश लोकसेवा आयोगको अध्यक्ष बनाउन लागेकाे बताइएकाे छ । आफूभन्दा कनिष्ठ व्यक्तिलाई आयोगको अध्यक्ष बनाउने तयारी भएपछि पदबाट राजीनामा दिएको उनले बताए ।
प्रदेशका मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख सदस्य रहेको ३ सदस्यीय समितिले आयोगको अध्यक्ष नियुक्त गर्ने संवैधानिक प्रावधान रहेकाे छ ।