भरतपुर, २ कात्तिक ।
फ्रान्सको पेरिसमा हुने अन्तर्राष्ट्रिय उद्यमी मेला (ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प)मा भाग लिन पाँच सदस्यीय समूहलाई भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीले शुक्रबार बिहान बिदाइ गरेको छ । चार जना विद्यार्थी तथा एक शिक्षक प्रतिनिधिकोे समूह शुक्रबार भरतपुर विमानस्थलदेखि काठमाडौँ प्रस्थान गरेको हो । फ्रान्सको पेरिसमा हुने उक्त कार्यक्रमका लागि शुक्रबार राति नौ बजे काठमाडौँदेखि दुबई हुँदै फ्रान्सको पेरिस प्रस्थान गर्नेछन् ।
विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलको नेतृत्वमा रहको उक्त टोलीमा कक्षा ११ र १२ का विद्यार्थीहरूले भाग लिँदैछन् । कार्यक्रममा उद्यमीहरू, विद्यार्थीहरू र विभिन्न पेशामा आवद्ध व्यक्तिहरू विश्वभरबाट अवलोकन एवं सिकाइका लागि सहभागी हुनेछन् ।
उद्यमीहरूका साथै इच्छुक उद्यमीहरूको रुचिअनुसार उद्यममा उनीहरूको भविष्य निर्माणका लागि सहजता सिर्जना गर्न आवश्यक सीपहरू विकास गर्नको लागि जीवनभरको अनुभव प्रदान गर्न डिजाइन गरिएको चार दिवसीय गहन शैक्षिक नेतृत्व सत्रको शृङ्खला हो ।
११औँ संस्करणको ग्लोबल इन्टरप्रीनरसिप बुटक्याम्प कात्तिक ५ गतेदेखि ८ गतेसम्म फ्रान्सको राजधानी पेरिसस्थित सोरवन युनिभर्सिटीमा आयोजना हुनेछ । यो उद्यमी मेलामा विश्वभरका आकांक्षी उद्यमीहरू र भविष्यमा उद्यम अपनाउने सोच भएका युवाहरूले आफ्नो व्यापारिक नवीन विचारहरू विकास गर्न र मूल्यवान सीप सिक्न तथा सफल व्यवसायका लागि ‘आइडिया मास्टर’हरूका विचार ग्रहण गर्नका लागि यसको प्रारूप तयार पारिएको हो ।
ग्लोबल इन्टरप्रीनरशिप बुटक्याम्प इन्कर्पोरेशनको मुख्यालय संयुक्त राज्य अमेरिकाको डेलावेयरमा रहेको छ भने यसले यसअघि नै एशिया, मध्यपूर्व र अमेरिकामा उद्यमशील इकोसिस्टमको निर्माण र अन्वेषण गर्ने दसवटा संस्करणहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ । ‘सुरु गरौँ, आफ्नो उद्यमको मापन आफै गरौँ’ भन्ने नारा दिइएको यस महामेलामा विश्वभरबाट युवाहरुको सहभागिता रहने कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।
बुटक्याम्पमा भाग लिन विद्यालयमा विद्यार्थीबाट प्राप्त आवेदनमध्ये चार जनाको मात्र आवेदन स्वीकृत भई भिजा लागेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
यसबाहेक विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत फ्रान्सको पेरिसलगायत स्वीट्जरल्यान्डको जेनेभा र ज्यूरिक तथा जर्मनीको म्युनिखमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको निर्देशक पौडेलले जानकारी दिए । यसअघि भएको १०औँ संस्करण युएईको दुवईमा सम्पन्न भएको थियो । सो कार्यक्रममा समेत अङ्कुरम् एकेडेमीका तीन जना विद्यार्थी र एक जना प्राध्यापकले आफ्नो प्रस्तुति पेस गरेका थिए ।