मकवानपुर ।
स्थानीय तह उपनिर्वाचनमा दलहरूले पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउनु पर्ने भएको छ ।
निर्वाचन आयोगको बुधबार बसेको बैठकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन पुरुष प्रमुख वा उपप्रमुख भएको पालिकामा महिला उम्मेदवार उठाउन दलहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।
‘स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा (४) बमोजिम उम्मेदवारको मनोनयन पत्र पेश गर्दा २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हाली रहेको स्थानीय तहमा रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उमेम्दवार रहने गरी मनोनयन पत्र पेश गर्न उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम निर्देशन दिएको छ’ आयोगद्वारा बिहीबार जारी विज्ञप्तीमा भनिएको छ ।
यसैगरी निर्वाचन आयोगले गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण समेत माग गरेको छ ।
स्थानीय तह उपनिर्वाचनको लागि मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि निर्वाचन आयोगले बिहीबार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गरिएको हो ।
मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, २०७३ को दफा २५ को खण्ड (ख) बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ। आयोगले उक्त विवरण ५ कार्तिक भित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ।