गैंडाकोट, २७ असोज ।
लेखक अमर न्यौपानेले पठन संस्कृति अभियानले किशोरकिशोरीलाई पढ्न प्रेरित गरेको बताएका छन् । पठन संस्कृति अभियानको सातौँ शृङ्खलामा प्रस्तुत भएका न्यौपानेले विद्यालयमा समूह बनाएर पढ्ने र छलफल गर्ने कार्यक्रम गर्न सकेमा यो अभियान सफल हुने बताए । गाउँमा, टोलमा, समुदायमा पनि पढ्ने अभियान चलाउन सकिने र गैंडाकोटबाट सुरु गरिएको यो अभियान उदाहरणीय भएको न्यौपानेले बताए । उनले सेतो धरती उपन्यासका लागि मदन पुरस्कार र पानीको घाम कथासङ्ग्रहका लागि पद्मश्री पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रममा विभिन्न ६ जना व्यक्तिले पाठकीय टिप्पणी राखेका छन् । लेखक, समीक्षक उदय अधिकारीले लन्डन अनप्लग्ड पुस्तकमाथि टिप्पणी राखे । गोपी सापकोटाको यो पुस्तक आख्यानात्मक निबन्ध भएको बताउँदै लेखकले लन्डन अनप्लग्डमा बेलायत बसाइँको दैनिकीलाई प्रस्तुत गरेको उदय अधिकारीले बताए । त्यसैगरी खैरहनीबाट आएका हेमराज खतिवडाले द साइलेन्ट रिबेलियन उपन्यासबारे चर्चा गरे । लेखक सुभाष घिमिरेको यो पुस्तकमा आमा, दिदीबहिनी, छोरीचेलीको वैवाहिक जीवनका उतारचढावलाई उपन्यासको कथा बनाएको खतिवडाले सुनाए ।
त्यसैगरी गैंडाकोट निवासी शंकर आचार्यले अमर न्यौपानेको उपन्यास सेतो धरती र भरतपुर निवासी लक्ष्मी बरालले सन्न्यास उपन्यासको चर्चा सुनाए । युनाइटेड तक्षशिला गैंडाकोटमा कक्षा ११ मा अध्ययनरत संसार सापकोटाले सेयरिङ ट्रेडिसन अङ्ग्रेजी पुस्तकको चर्चा सुनाए ।
पठन संस्कृति अभियानको ७ औँ शृङ्खलामा अन्तर्वार्तासङ्ग्रह `साकार समय´ विमोचन गरिएको छ । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति गोविन्दराज विनोदी, प्रसिद्ध लेखक अमर न्यौपाने, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटा र पठन संस्कृति अभियानका संयोजक त्रिलोचन सापकोटाले पुस्तक विमोचन गरेका हुन् ।
शिखा बुक्सबाट प्रकाशित पुस्तकमा सैलेन्द्र साकारसँग उदय अधिकारीले गरेको कुराकानी छ । पुस्तकको मूल्य ३५० छ ।