मकवानपुर, २६ असोज ।
काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माणको काममा खटिएका मजदुरबीच शुक्रबार साँझ झगडा हुँदा १ जना घाइते भएका छन् ।
द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा मजदुरबीच झगडा हुँदा छुरा प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
छुरा प्रहारबाट ओखलढुङ्गा जिल्लाका २५ वर्षीय निम शर्मा घाइते भएका छन् । प्रहरीका अनुसार शर्मालाई कैलाली जिल्लाको धनगढीका २६ वर्षीय करण रानाले छुरा प्रहार गरेका थिए । दायाँ हातको नाडीको नशा काटिएको शर्माको हेटौँडास्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले छुरा प्रहार गर्ने रानालाई पक्राउ गरेको जनाएको छ ।