गैंडाकोट, २५ असोज ।
मदन पुरस्कार विजेता अमर न्यौपाने गैंडाकोट आउने भएका छन् । पठन संस्कृति अभियानको सातौँ शृृङ्खलामा सहभागी हुन लेखक न्यौपाने गैँडाकोट आउने भएका हुन् । विजया दशमीको भोलिपल्ट असोज २७ गते आइतबार दिउँसो ३ बजे विजय विकास स्रोत केन्द्रको हल गैंडाकोटमा कार्यक्रम हुनेछ ।
सामुदायिक रेडियो विजय एफएम र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारीले विगत ६ महिनादेखि हरेक महिना पठनसंस्कृति अभियानको कार्यक्रम गर्दै आएको छ । सातौँ शृङ्खलामा साहित्यकार न्यौपानेको प्रमुख आतिथ्यता रहनेछ ।
वि. सं. २०३४ सालमा चितवनमा जन्मिएका न्यौपानेको पानीको घाम, सेतो धरती, करोडौँ कस्तुरी, गुलाबी उमेर, कलिलो मनलगायतका कृति प्रकाशित छन् । २०६८ सालमा न्यौपानेको सेतो धरती उपन्यासले मदन पुरस्कार प्राप्त गरेको थियो । वि.सं. २०६६ मा पानीको घामबाट पद्यश्री साहित्य सम्मान र २०६७ सालमा कलिलो मनबाट पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेका छन् ।
साहित्यकार न्यौपाने सरल र छोटा वाक्य तथा सटिक अभिव्यक्तिमा आख्यानभित्र काव्यात्मक बिम्ब सिर्जना गर्नसक्ने कुशल शैलीका कारण पाठकहरु माझ लोकप्रिय छन् ।
सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्धत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पुर्याउने सापकोटाको विश्वास रहेको छ । पठन संस्कृति अभियानको सातौँ शृङ्खलामा पनि अघिल्ला शृङ्खलामा जस्तै पाठकहरुले आफूले पढेका पुस्तकमाथि चर्चा परिचर्चा गर्ने कार्यक्रम रहेको विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिए । गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियान प्रत्येक महिना सञ्चालन भैरहेको छ ।