भरतपुर, २३ असोज ।
बडादशैं २०८१ को अवसरमा एभरेष्ट प्रिस्कुलले विद्यार्थी, अभिभावक, कर्मचारी, शुभेच्छुक र सम्पूर्ण टोल बासीसँग शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । यस कार्यक्रमले सबैलाई एकआपसमा सुमधुर सम्बन्ध स्थापित गर्नका लागि एक उत्कृष्ट अवसर प्रदान गरेको प्रबन्ध निर्देशक गणेश रानाले जानकारी दिए । विद्यालयका शिक्षक-शिक्षिकाहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी दशैंको महत्त्व दर्शाएको जसलाई उपस्थित सबैले अत्यन्त सराहना गरेको रानाले विश्वास लिए ।
यसै वर्षबाट सञ्चालनमा आएको एभरेष्ट प्रिस्कुल विगत १५ वर्षदेखि प्रिस्कुल र मन्टेश्वरी शिक्षण क्षेत्रमा आवद्ध अनुभवी व्यक्तिहरूको समुहले सञ्चालन गरेको हो । एभरेष्ट प्रिस्कुलको सह-सम्बद्ध संस्था स्टार्स मन्टेश्वरी एकेडेमी पोखरामा १८ वर्षदेखि र भरतपुरमा १५ वर्षदेखि निरन्तर रुपमा सञ्चालनमा रहेको छ । भरतपुरमा स्टार्स मन्टेश्वरी एकेडेमी अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको रानाले सुनाए ।
रानाका अनुसार भरतपुर-११, मालपोत शाखामा विद्यार्थीको अत्यधिक चापका कारण धेरै नानीबाबु भर्ना नपाई फर्काउनुपर्ने अवस्थाले प्रेरित भई नजिकै अर्को शाखाको रूपमा एभरेष्ट प्रिस्कुलको स्थापना गरिएको हो । एभरेष्ट प्रिस्कुलका संस्थापक एवम् स्टार्स मन्टेश्वरी एकेडेमी, भरतपुर शाखाका प्रबन्ध निर्देशक श्री गणेश रानाले भने, “आजका दिनमा धेरै अभिभावकले आफ्ना नानीबाबुलाई उच्च शिक्षा प्रदान गर्नु अघि मन्टेश्वरी प्रिस्कुलमा प्रारम्भिक शिक्षा दिन मन पराउनुभएको छ, जसले गर्दा बच्चाहरूको अध्ययन र अन्य क्रियाकलापमा अब्बल बन्न मद्दत गर्दछ ।”
रानाले अगाडि थपे- “विदेशमा युवा जनशक्ति पलायन भइरहेका बेला हामीले नेपालमै केही योगदान गरौँ भनेर १५ वर्षअघि यो क्षेत्रमा काम सुरु गरेका हौँ । यस अवधिमा हामीले धेरै युवाहरूलाई रोजगार प्रदान गरेका छौँ र नेपालमा नै गुणस्तरीय शिक्षा प्रवाह गर्न सक्षम भएका छौँ ।”
कार्यक्रमले अभिभावक र विद्यालयको सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्याएको छ भने विद्यालयको आगामी योजनाहरूलाई पनि उजागर गरेको छ ।