रत्ननगर, २२ असोज ।
राष्ट्रउत्थान साहित्य प्रतिष्ठानको आयोजनामा जनजागृति मावि पिठुवामा काव्यिक अनुष्ठान गरिएको छ ।
विष्णुप्रसाद पौडेल ‘अपरिचित’को अध्यक्षता र केशवराज आमोदीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रसिद्ध निबन्धकार रामबाबु धिमिरे, समालोचक कपिल अज्ञात, रामहरि शर्मा ‘शराह’, हास्यव्यङ्ग्य निबन्धकार तिलकराज शर्मा र धनराज गिरी विशिष्ट अतिथि थिए ।
कार्यक्रममा रचनावाचन तथा शुभकामना आदानप्रदानसमेत गरिएको थियो । सोही कार्यक्रममा साहित्यकार केदार कुशलका दुईवटा कृतिहरू प्रहरप्रहरका प्रहार (गजलसङ्ग्रह) र आरुदेखि अस्ट्रेलियासम्म ( यात्रा-संस्मरण) को विमोचन गरियो ।
एकैसाथ प्रकाशित कृतिहरू ‘आरुदेखि अस्ट्रेलियासम्म’को आख्यानकार गोकर्ण मल्ल र ‘प्रहरप्रहरका प्रहार’ को वरिष्ठ गजलकार किसान प्रेमीबाट समीक्षात्मक टिप्पणी राखिएको थियो । मन्तव्यका क्रममा कृतिकार केदार कुशलले स्वर्गीय मातापिताको सम्झनामा हरेक वर्ष पितृपक्षमा एकजना साहित्यकार व्यक्तित्वलाई ११,१११/- (एघार हजार एकसय एघार रुपैयाँ) द्वारा सिर्जनाको सम्मान गर्ने घोषणा गरे ।
कार्यक्रमको सहजीकरण रोहिणी न्यौपानेबाट भएको थियो । कार्यक्रममा रामलाल कुमाल, राजेन्द्र सिलवाल ‘घायल’, दुर्गा पौडेल, यमुना न्यौपाने, नरेन्द्र पौडेल, गिरिराज डल्लाकोटी, गिरिराज अधिकारी, हरिप्रसाद गजुरेल, रामशरण थपलियालगायतले कविता वाचन गरेका थिए ।