मकवानपुर, २२ असोज ।
मकवानपुर प्रहरीले तेल ट्यांकरबाट लागुऔषध गाँजा बरामद गरेको छ । मंगलबार बिहान काठमाडौंमा तेल अनलोड गरि पालुङ हुँदै विरगंजतर्फ जाँदै गरेको ना ७ ख १७७१ को ट्याङकरबाट तीन सय ९२ किलो लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा १५ रातोमाटेबाट गाजा सहितको उक्त ट्यांकर र दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
ट्याङकर चालक मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरे बस्ने २६ वर्षीय रोशन पुरी र सोही स्थानका सहचालक २२ वर्षीय धनबहादुर मल्ललाई नियन्त्रणमा लिएको हो । तेल भर्ने पाँचवटा डिब्बाहरु मध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका बनाई विरगंजतर्फ लाँदै गरेको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको जनाइएको प्रहरीले जनाएको छ ।