भरतपुर, २१ असोज ।
हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारणसभा सोमबार भरतपुर महानगरपालिका–२ स्थित तीनखोले गुम्बा परिसरमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य राख्दै हंस सहकारीले २१ वर्षको यात्रा पूरा गरेको स्मरण गराउँदै सहकारीको प्रगति र भविष्यप्रति आशावादी रहेको धारणा राखे । उनले सबैको सामूहिक प्रयासले मात्र सहकारीको विकास सम्भव भएकोमा जोड दिँदै, आगामी दिनमा थप प्रगति र सेवा विस्तारमा केन्द्रित हुने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संस्थाका प्रबन्धक नारायणप्रसाद सापकोटाले सहकारीको विगत, वर्तमान अवस्था र भावी योजनाहरूको संक्षिप्त विवरण प्रस्तुत गर्दै संस्थाले ५,१४८ सेयर सदस्यहरूसँग सहकार्य गरिरहेको जानकारी गराए । उनका अनुसार संस्थाको कुल सम्पत्ति ८८ करोड ४८ लाख ४७ हजार पुगेको छ भने कुल निक्षेप ६५ करोड ४ लाख ७९ हजार, कुल लगानीमा रहेको ऋण ६५ करोड ५९ लाख ९६ हजार, संस्थाको चुक्ता शेयर पूँजी ९ करोड ९८ लाख १५ हजार, जगेडा कोष ६ करोड ७७ लाख ७२ हजार, सेयर लगानी २१ लाख ७७ हजार रहेको बताए ।
कार्यवाहक सचिव प्रा.डा. होमनाथ सापकोटाले आ.व. २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सदस्यहरूको हितमा अगाडि बढ्नुपर्ने र सहकारीलाई नयाँ उचाइमा पुर्याउन सबको साथ आवश्यक रहेको उल्लेख गरे । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष प्रमोदकुमार श्रेष्ठले आ. व . २०८० / ८१ को मुनाफाबाट ९ प्रतिशत सेयर लाभांश वितरण गरिने जानकारी गराए । उनले आर्थिक वर्ष २०८०/८१ मा ३ करोड २ लाख २० हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको जानकारी दिँदै सेयर सदस्यहरूको लगानीबाट संस्थाले यो प्रतिफल आर्जन गर्न सफल भएको बताए । लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौड्यालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै सहकारीमा देखिएका ससाना कमजोरीहरूलाई सुधार्दै संस्था अझ बलियो बनि अगाडि बढ्नुपर्ने बताए ।
साधारण सभामा संस्थाको शिक्षा उपसमितिको समन्वयमा ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित चितवन जिल्लास्तरीय बालकविता प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्ने क्रमश : जानकी माविकी आकृति पराजुली, सिद्धार्थ स्कुल नारायणगढकी ओजस्वी ढकाल, ओम शान्ति एकेडेमीकी सर्बानी गोदारका साथै प्रोत्साहन पुरस्कार चितवन माविकी बन्दना कुमाल र राष्ट्रिय मावि, हात्तिबाङकी संगिता चेपाङलाई प्रदान गरिएको थियो ।
यस अवसरमा सहकारीका सदस्यहरूलाई शैक्षिक तथा जानकारीमूलक पुस्तकहरू उपलब्ध गराउने उद्देश्यले संस्थाले हंस सहकारी पुस्तकालयको उद्घाटन पनि गरेको थियो । शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले संस्थालाई पुस्तकहरु हस्तान्तरण गरी पुस्तकालयको शुभारम्भ गरिएको थियो । कार्यक्रमको अध्यक्षता गरेका दिनेशकुमार चुकेले संस्थाको भावी योजनाहरूलाई सफल बनाउन सदस्यहरूको सक्रिय सहभागिता र निरन्तर प्रयास आवश्यक रहेको बताए । उनले सहकारीको सफल यात्रामा सबैको योगदानको महत्त्व उल्लेख गर्दै आगामी दिनमा सहकारीलाई अझ सुदृढ र प्रगतिशील बनाउन सबैको साथ र सहयोग अपरिहार्य हुने बताए । यसअघि असोज १९ गते टाँडी, विजयनगर र जीतपुर सेवाकेन्द्रका इकाइगत सभाहरू सम्पन्न गरिएको अध्यक्ष चुकेले जानकारी दिए ।