गैंडाकोट, २१ असोज ।
गैंडाकोट इङ्लिस स्कुल गैंडाकोटमा सोमबार बिहान ११:३० बजे घण्टी बज्यो । परीक्षा सकेर बसेका विद्यार्थीहरु खुसी हुँदै हुर्रे हुर्रे गर्दै लाइनमा बसे । लाइन लगाएर घर जान बाहिरिँदै गरेका विद्यार्थीलाई प्रधानाध्यापक हीरालाल अर्यालले मुना बालपत्रिका हातमा थमाइदिए भने शिक्षिकाहरूले विद्यार्थीका हातमा जमरा राखिदिँदै दशैँको शुभकामना दिए ।
गैंडाकोट इङ्लिस स्कुलमा सोमबारबाट एक हप्ता लामो दशैँ बिदा भएको छ । विद्यार्थीहरूलाई यो लामो बिदामा कठिन हुने खालका गृहकार्य नदिइएको सहप्रधानाध्यापक नवराज कँडेलले बताए । `विद्यार्थीलाई यो बिदा परिवारसँग मनाउन, खेल्न, घुम्न, अतिरिक्त पुस्तक पढ्न र सिर्जनात्मक काम गर्न भनेका छौँ´, कँडेलले भने – `यो बिदामा उनीहरूले खेलेका, घुमेका, चाडपर्व मनाएका, पढेका, देखेका, अनुभव गरेका कुरालाई आफ्नै ढंगले प्रस्तुत गर्न रचनात्मक आग्रह गरेका छौँ ।स्कुल खुलेपछि केही दिन विद्यार्थीका अनुभव सुन्नेछौँ ।´
दशैँ सुरु भएको सांकेतिक भावस्वरुप घर जान लागेका विद्यार्थीलाई हातमा जमरा दिइएको सहप्रधानाध्यापक कँडेलले बताए । मुना र जमरा पाएर विद्यार्थीहरू खुसी देखिएको पनि उनले सुनाए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका पूर्वअध्यक्ष श्यामराज रानाभाट र भरतपुर- १३ का कृष्णप्रसाद सिंखडाले आफ्नो जन्मदिनको अवसर पारेर विद्यार्थीका लागि ६०० थान बढी मुना उपलब्ध गराएका थिए । त्यसैगरी सम्पूर्ण किताब नारायणगढबाट सहयोगस्वरुप आएका र विद्यालयले खरिद गरेका मुना बालपत्रिका विद्यार्थीलाई उपलब्ध गराइएको सहप्रधानाध्यापक कँडेलले बताए ।