मकवानपुर, २१ असोज ।
मकवानपुर हेटौंडामा रही पत्रकारितामा सक्रिय मणिराज गौतमकाे पुस्तक `प्रवासका फूलहरु´ विमाेचन भएकाे छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष गौतमकाे उक्त पुस्तक आइतबार बेल्जियममा विमोचन गरिएको छ ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतले पुस्तकको विमोचन गरेका थिए ।
पुस्तक बिमोचन कार्यक्रममा राजदुत राजभन्डारीले बिदेशमा बस्ने नेपालीहरुका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा सहयोग पुग्ने बताए । ‘पुस्तक युरोपका नेपालीहरुको दस्ताबेजको रुपमा रहने भएकाले पनि ईतिहास बन्नेछ’ उनले भने – ‘पुस्तकमार्फत विदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वाश छ ।’
लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीको जीवन्त कथा लेखिएको अनुभव सुनाउँदै करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर बिदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसास प्रति आभार व्यक्त गरे । पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति,परिवारिक अवस्था, बैदेशिक संघर्षलगायतका वास्तविक कथा समावेश गरिएको उनले जानकारी दिए ।
यस्तै एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बिचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचारप्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेको बताइन् । सापकाेटाले सबैका आ-आफ्नै भोगाई हुने, ति भाेगाइलाई नयाँ पुस्तासामु जानकारी दिन पुस्तकले भूमिका खेल्ने बताइन् । नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले गौतमकाे पुस्तकमा सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेको बताए । ‘आफ्नो जनभूमि छोडेर फरक भूगोल संस्कार र संस्कृतिमा आफूलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्नेछ’ उनले भने ।
अन्तरराष्ट्रीय नेपाली साहित्य समाज केन्द्रीय उपाध्यक्ष डिल्ली अम्माईले गौतमले युरोप भित्रका अधिकतम देशका विभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष सम्वाद गरेर प्रकाशन गरेकाे `प्रवासका फूलहरु´ पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्चतम हुने बताए । अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताए ।
यस्तै अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथामा तयार गरिएकाे पुस्तकले युरोपमा नेपालीहरुका दिब्य आशा, उन्मुक्त मनोभाब, उत्तेजना, सफलता-असफलताका कथा र संकल्पहरु समाबेश गरिएको कलात्मक कृतिका रुपमा रहकाे बताए । दुई सय अठासी पृष्ठ रहेको पुस्तक अन्तर्वार्तामा आधारित छ ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरि भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष विनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापति बिराट जोशीलगायतले कृति सफलताको शुभकामना व्यक्त गरे । पुस्तकमा लेखक संघ केन्द्रीय सदस्य हयगृब आचार्यको भाषा सम्पादन, कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देबकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति कृयसन राम अविकास र वितरकमा किताब घर हेटौंडाका छवि अनित्यको रहेको छ ।