भरतपुर, २० असोज ।
लायन्स क्लब अफ चितवन वाङमयको आयोजनामा भरतपुर- १३ उजेलीनगरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
कार्यक्रममा लायन्स डिस्ट्रिक्ट ३२५ आर नेपालका डिस्ट्रिक्ट गभर्नर दिनानाथ न्यौपाने प्रमुख अतिथि रहेका थिए । क्लबले स्थापनाकालदेखि नै विभिन्न सामाजिक क्रियाकलापहरू गरिरहेको र अहिले आफ्नै जन्मदिन पारेर क्लबकी सक्रिय सदस्य भावना तिमिल्सिनाले बालबालिकालाई जाडोको समयमा राहत होस् भन्ने उदेश्यले न्यानो कपडा वितरण गरेकोमा न्यौपानेले धन्यवाद दिए । जन्मदिनका अवसरमा विभिन्न भोज, पार्टी र फजुल खर्च गर्नुको साटो सामाजिक सेवामा खुसीका पलहरु साटासाट गर्न न्यौपानेले आग्रह गरे ।
निम्न आर्थिक अवस्था भएका अभिभावकका सन्तान अध्ययनरत विद्यालयमा ९८ जना विद्यार्थीलाई जाडोमा लगाउने न्यानो लुगा ट्र्याक्सुटलगायतका सामग्री प्रदान गरिएको लायन्स कल्व अफ चितवन वाङमयकी पूर्व अध्यक्ष तथा रिजन चेयर पर्सन हरिप्रिया रिजालले जानकारी दिइन् ।
सुजन अधिकारीको अध्यक्षतामा गरिएको कार्यक्रमलाई राजेन्द्र पौडेलले सहजीकरण गरेका थिए ।