मकवानपुर, २० असोज ।
आँचल साहित्य कला पुञ्ज, मकवानपुरले आफ्नो नियमित मासिक भेटघाट कार्यक्रम गरेको छ । आँचलले हरेक महिनाको तेस्रो शनिवार मासिक भेटघाट कार्यक्रम सम्पन्न गर्ने गरेको छ ।
मासिक भेटघाट कार्यक्रममा नेपाली समाजमा प्रमुख रुपमा मनाइने दशैँ, तिहार, छठ चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमसँगै रचनावाचन गरिएको थियो । आँचलकी संस्थापक अध्यक्ष मुना अर्यालको मानेडाँडास्थित निवासमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उपस्थितहरूले शुभकामना आदानप्रदानका साथमा रचनावाचन गरेका थिए । फरक परिवेशमा रचना सिर्जना तथा वाचन कार्यक्रमहरू गर्दा लेखकहरूमा पुनर्ताजगी र उर्जा प्राप्त हुने स्रष्टाहरूको भनाइ रहेको छ । कार्यक्रममा आँचलकी सल्लाहकार पूर्णकला घिमिरे, कविहरू सुवास खनाल, शान्ति प्रियवन्दना, सानु खनाल, भवानी तिमल्सिना, सविता तिमल्सिना, शारदा ओली, रजनी पौडेल, अनु रोक्का, स्वस्तिका घिमिरे , एलिजा पुडासैनी, आँचलकी आजीवन सदस्यहरू शुभद्रा हुमागाईँ, अचला शर्मा, रञ्जना घिमिरे, देवकी चौलागाईँको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा भएको थियो ।